दोस्रो बन्यो कपिलवस्तुमा न्यूनतम सेवा मापदण्ड अस्पताल

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अङ्क हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो ।

न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवं अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले कपिलवस्तु अस्पताललाई ९४ प्रतिशत अङ्कसहित प्रदेशमा दोस्रो भएको घोषणा गर्नुभएको हो । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो भएको उहाँले बताउनुभयो

।अस्पतालको सबै पक्षको अनुगमन र मूल्याङ्कन गरी अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषय समेटेर मूल्याङ्कन गरिएको हो । अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा देशभरका सेकेन्डरी समूह ‘ए’ अन्तर्गतका अस्पतालमा राम्रो सेवा दिइरहेको उहाँले बताउनुभयो । अस्पताल प्रमुखसहित कार्यरत सम्पूर्ण कर्मचारीको लगनशीलताका कारण आउने छ महिनामा प्रदेशमै प्रथम हुने सम्भावना रहेको छ ।

कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विपिन जैसवालले अझै केही कुरामा सुधार गर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै कुरा सुधार गरेर आगामी वर्ष शतप्रतिशत लक्ष्य हासिल गर्ने लक्ष्यमा काम गरिरहेका छौँ ।’ आउने दिनमा अस्पतालमा डायलासिसलगायतका सेवा सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा सुशासन, नियमित रिपोर्टिङलगायत ७२१ सूचकलाई मूल्याङ्कन गरिएको हो । कुनै पनि अस्पतालले जनताका लागि प्रभावकारी सेवा दिनुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।

SHARE