बालेन सरकार पूर्ण, को-को सम्हाले कुन मन्त्रालय?

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूलाई शपथ गराएका हुन्।

यसअघि आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा बटुकबाट स्वस्तिवाचन र लामाबाट मंगलवाचन समेत गरिएको थियो।

नयाँ मन्त्रिपरिषद् गठनसँगै बालेन नेतृत्वको सरकार औपचारिक रूपमा पूर्ण भएको छ।

को-को बने मन्त्री?

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी समेत आफैं सम्हालेका छन्।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयताका सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन्।

शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त भएका छन् भने सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हालेका छन् भने खड्कराज पौडेल पर्यटन मन्त्री बनेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहताले सम्हालेकी छन्।

सञ्चार मन्त्रालय विक्रम तिमिल्सिनाले सम्हालेका छन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावललाई दिइएको छ भने दीपक साह श्रम मन्त्री र सोविता गौतम कानुन मन्त्री बनेकी छन्।

महिला, बालबालिका मन्त्रालय सीता वादीले सम्हालेकी छन्।

नयाँ मन्त्रिपरिषद्सँगै सरकारको कार्ययोजना र प्राथमिकता अब परीक्षणको चरणमा प्रवेश गरेको छ।