दशै आउँछ। गाउँका बाटाहरूमा चहलपहल बढ्छ। सहरका पसलहरू झिलिमिली बत्तीले सजिन्छन्। नयाँ लुगा, मिठा परिकार, रातो टीका र जमरा, परिवारको भेटघाट अनि ठूलाबडाको आशीर्वाद-यी सबै दृश्यले दशैँलाई खुसीको पर्वका रूपमा चिनाउँछन्।
तर यही उत्सवको उज्यालोभित्र एउटा अँध्यारो कथा पनि लुकेको छ। त्यो कथा हो-गरिबको दशै।
कसैका लागि दशै नयाँ लुगा लगाउने अवसर हो, कसैका लागि वर्षदिनपछि परिवारसँग भेट्ने खुसी। तर कसैका लागि भने दशै भनेको छोराछोरीको अनुहारमा मुस्कान ल्याउन नसक्दाको पीडा, चुलोमा मिठो परिकार पकाउन नसक्दाको विवशता र ऋण खोज्दै बित्ने दिनहरूको नाम हो।
दशैको चहलपहलले बजार भरिँदै गर्दा एउटा गरिब बाबु मनमनै हिसाब गरिरहेको हुन्छ-छोराछोरीलाई एक जोर लुगा किन्दा कति पैसा लाग्ला? घरमा चामल, तेल र नुन कसरी जुटाउने? गाउँबाट सहरमा काम गर्न गएको छोरो यसपालि घर फर्किन पाउला कि नपाउला? अनि साहुले उधारो पत्याउला कि नपत्याउला?
उसका लागि दशै पात्रोमा रातो अक्षरले लेखिएको चाड मात्रै होइन, आफ्नो आर्थिक हैसियतसँग हरेक दिन गर्नुपर्ने संघर्षको परीक्षा पनि हो।
दशैको इतिहास : आस्थादेखि सामाजिक परम्परासम्म
दशै नेपालको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई विशेषतः हिन्दू परम्परामा दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग जोडेर मनाइन्छ। त्यसैले दशैलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिन्छ।
दशैको परम्परा देवीपूजा, शक्ति आराधना, कृषि जीवन, पारिवारिक भेटघाट र सामाजिक सम्बन्धसँग जोडिएको छ। घटस्थापनादेखि सुरु हुने नवरात्र, फूलपाती, महाअष्टमी, महानवमी, विजयादशमी र कोजाग्रत पूर्णिमासम्मका विभिन्न परम्पराले यस पर्वको सांस्कृतिक विस्तार देखाउँछन्।
नेपालको इतिहासमा दशैले धार्मिक पर्वसँगै राज्य, समाज र पारिवारिक सम्बन्धको स्वरूप पनि ग्रहण गरेको छ। राजतन्त्रको समयमा राजदरबारबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले यसलाई राज्यको औपचारिक संस्कृतिसँग जोडेको थियो। समयक्रममा दशै घरपरिवार, समुदाय र प्रवासमा रहेका नेपालीलाई जोड्ने साझा पर्वका रूपमा स्थापित हुँदै गयो।
यद्यपि दशैँको धार्मिक व्याख्या र सांस्कृतिक अभ्यास सबै समुदायमा समान छैनन्। नेपालका विभिन्न जातजाति र समुदायले यस अवधिलाई आ-आफ्नै सांस्कृतिक मान्यता, परम्परा र अनुभवअनुसार ग्रहण गर्छन्। त्यसैले दशैको इतिहास बुझ्दा धार्मिक आख्यानसँगै नेपालको बहुसांस्कृतिक समाज र विविध परम्परालाई पनि बुझ्न आवश्यक छ।
तर इतिहासले एउटा प्रश्नको जवाफ अझै दिन सकेको छैन-सत्यको विजय मनाउने यो पर्वमा गरिबको जीवनमाथि शासन गरिरहेको अभाव कहिले पराजित होला?
गरिबको घरमा दशै कसरी आउँछ?
दशै आउनुअघि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्छ। पसलमा नयाँ लुगाको थुप्रो लाग्छ। मिठाई पसलबाट बास्ना फैलिन्छ। यातायातका साधनमा घर फर्किने यात्रुको भीड बढ्छ। सामाजिक सञ्जालमा परिवारसँगको भेटघाट र नयाँ लुगाका तस्बिरहरू देखिन थाल्छन्।
तर गाउँको छेउमा रहेको सानो झुपडीमा बस्ने मजदुर परिवारको जीवनमा दशैको आगमन फरक हुन्छ।
दिनभरि अरूको घर बनाउने मजदुरले आफ्नै घरको छानो मर्मत गर्न सकेको हुँदैन। अरूका खेतमा पसिना बगाउने किसानले आफ्ना छोराछोरीको रहर पूरा गर्न सकेको हुँदैन। अरूका लागि कपडा सिलाउने दर्जीले आफ्नै परिवारका सदस्यलाई नयाँ लुगा किनिदिन नसकेको हुन सक्छ। होटलमा भाँडा माझ्ने श्रमिकले अरूलाई मीठो खाना खुवाउँदा खुवाउँदै आफ्नै घरमा चाडको खर्च कसरी जुटाउने भन्ने चिन्तामा रात बिताइरहेको हुन्छ।
घरमा साना छोराछोरी छन्। उनीहरूलाई दशै भनेको नयाँ लुगा, मासु खान पाउने दिन र दक्षिणा हातमा पैसा पर्ने उत्सव हो। उनीहरूलाई अर्थतन्त्र थाहा हुँदैन, महँगीको हिसाब थाहा हुँदैन, ऋणको ब्याज कति बढ्छ भन्ने पनि थाहा हुँदैन। उनीहरूलाई यत्ति थाहा हुन्छ- दशैमा अरू साथीहरूले नयाँ लुगा लगाउँछन्, आफूले पनि लगाउन पाए हुन्थ्यो।
आमाबाबु भने छोराछोरीको यही सानो रहर पूरा गर्न नसक्दा भित्रभित्रै भत्किरहेका हुन्छन्।
कहिलेकाहीँ आमाले पुरानै लुगालाई धोएर, मिलाएर नयाँजस्तो बनाइदिन्छिन्। बाबुले बजारबाट मिठाई ल्याउन नसके पनि घरमै केही मीठो बनाएर खुवाउने प्रयास गर्छन्। उनीहरूका लागि छोराछोरीको खुसी नै दशै हो, तर त्यो खुसी जुटाउने बाटो अभावले छेकेको हुन्छ।
गरिबको घरमा दशै नआउने होइन। दशै त आउँछ, तर त्यसले बोकेर ल्याउने खुसीसँगै खर्चको भारी पनि आउँछ।









