कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई ८७ लाखको मल्हमपट्टी

१० जेठ, खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।

रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । ‘कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो’, उनले भने, ‘ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।’

यसअघि कुवेतमै ज्यान गुमाएका साकेला गाउँपालिका–५ मात्तिमका चन्द्रवोल राईका परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख १० हजार २२० क्षतिपूर्तिबापतको रकम उपलब्ध गराइएको हो ।

SHARE