दया र प्रियंकाको साथ नहुँदा ‘लाल्टिन’लाई चलचित्रकर्मीको शुभकामना

जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’लाई यो चलचित्रका मुख्य कलाकारले नै प्रचारमा साथ नदिएको अवस्था छ । केही समय अगाडि आयोजना भएको पत्रकार सम्मेलनमा यसका प्रस्तुकर्ता भानु प्रतापले भनेका थिए कि-‘अहिले निर्माता संघमा चलचित्रको प्रचारमा कलाकारले साथ नदिएको भन्दै धेरै उजुरी परेको छ । ती उजुरीमा निर्माता संघले चाडै नै कदम चाल्नेछ ।’

उनै, भानु प्रताप अहिले चलचित्रको प्रचारमा कलाकार पाइरहेका छैनन् । चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रियंका कार्की जस्ता कलाकारको साथ उनलाई मिलेको छैन । राइ र कार्की अन्य चलचित्रमा व्यस्त हुँदा ‘लाल्टिन’ निर्माता प्रचारमा उनीहरुको साथ पाइने अपेक्षा मात्र गरिरहेका छन् ।

अहिले नेपालमा चल्तीका केही कलाकार एकपछि अर्को चलचित्रमा काम गर्ने र डबिङ सकिएपछि आफ्नो काम नै सकिएको ठान्न थालेका छन् । जसले गर्दा निर्मातालाई चलचित्र प्रचारको समयमा कलाकारको खडेरी लाग्न थालेको छ ।

चलचित्रका मुख्य कलाकारले साथ नदिदा प्रस्तुतकर्ता भानु प्रतापलाई भने चलचित्रकर्मीले साथ दिएका छन् । सार्वजनिक भएको एक भिडियोमा विभिन्न चलचित्रकर्मीले ‘लाल्टिन’ सफलताको शुभकामना दिएका छन् ।

ट्रेलर र गीतका कारण चर्चामा रहेको ‘लाल्टिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

SHARE