नयाँं पुस्ता : फेसबुके युवाको इमोजी क्रेज

लामा वाक्य र हरफभन्दा छोटो प्रस्तुतिलाई नै आकर्षक मानिन्छ । अझ, सामाजिक सञ्जालमा त संकेतबाटै बढी व्यक्त गर्ने चलन शुरु भएको छ । सोही चलनको प्रतिनिधित्व गर्छन्, इमोजी चिह्नहरूले । साथीहरूसँग अनलाइनमा कुरा गर्दै हुनुहुन्छ भने तपाईंलाई कसैले पनि मान्छेको अनुहारजस्तै आकार भएको पहेँलो स्टिकरदेखि पानको पातसम्म संकेत पठाउन सक्छ । केही समय अघिसम्म खासै प्रचलनमा नरहेको ‘इमोजी’ अहिले युवामाझ स्थापित हुँदैछ । खुशी, दुःखी हुँदा, प्रेममा पर्दा, काममा व्यस्त रहँदा, निद्रा लाग्दादेखि रिसाएकोसम्म अनुभूत गराउन यस्ता स्टिकरको प्रयोग हुन्छ । फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेर पछाडि स्टिकर झुण्ड्याउने चलन निकै चर्चित छ, अहिले ।

सामाजिक सञ्जालमा उपलब्ध यस्ता स्टिकरलाई ‘इमोजी’ का रूपमा परिभाषित गरिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रमित लिवांगी ट्वीटर र फेसबुकमा स्ट्याटस अपडेट या कमेन्ट गर्दा इमोजी छुटाउँदैनन् । उनका विचारमा आफूले लेखेका कुरालाई यसले थप आकर्षक बनाउँछ । भन्छन्, ‘अब त यस्तो बानी लागिसक्यो कि केही लेखेपछि हात पनि इमोजीको फाइलतिर सर्छ ।’उनले इमोजीको प्रयोग गर्न थालेको वर्ष दिन भयो । शुरुमा साधारण मोबाइल थियो, त्यसैले उनलाई यसबारे थाहा थिएन । स्मार्ट फोन बोक्न थालेपछि फेसबुकमा साथीहरूले यस्ता स्टिकर हाल्दै स्ट्याटसहरू लेख्थे । उनलाई अचम्म लाग्थ्यो । अहिले शब्दभन्दा यस्ता स्टिकरमा रमाउने चलन सामाजिक सञ्जालमा व्याप्त छ ।

कुनै कुरामा ‘सक्रिय’ छु भन्नेदेखि ‘कन्फ्युज’ भएँ भन्नलाई शब्द खर्चिनु पर्दैन । कस्ताखाले भावना पोख्न मन छ, त्यसैअनुसारको स्टिकर छान्न पाइन्छ । कोही मान्छे मन प¥यो भने ‘मलाई तिमी मन पर्‍यो’ भन्नै पर्दैन, सानो रातो पानको पत्ता त्यहीँ हुन्छ । म ‘दुःखी छु’ भन्नलाई अब शब्दको खाँचो परेन, निहुरिएर झोक्र्याइरहेका जीवहरू जति पनि भेटिन्छ । जनावर, मौसम र अनुहारको भावजस्ता विभिन्न विधामा यस्ता स्टिकर उपलब्ध छन् ।

इमोजीमा इमोसन इमोजी जापानी शब्द हो । ‘इ’ ले तस्बिर र ‘मोजी’ले शब्द भन्ने अर्थ दिन्छ । सन् १९९० को दशकको अन्त्यतिर जापानी मोबाइलबाट शुरु भएको इमोजी अहिले विश्वभर पुगेको छ । आइफोन र पछि एन्ड्रोइड मोबाइल प्रणालीले समेत प्रयोग गर्न थालेपछि यसको लोकप्रियताले उचाइ लियो । ४ नोभेम्बर ०१६ मा अमेरिकाको सानफ्रान्सिस्कोमा पहिलो इमोजी सम्मेलन नै भयो ।‘स्माइली’का साथै विभिन्न भावभंगीमामा उपलब्ध यस्ता स्टिकर धेरै मात्रामा आफ्नो भावनालाई प्रस्तुत गर्न प्रयोग हुन्छन् । शब्दमार्फत् भन्न गाह्रो हुने कुरालाई इमोजीको प्रयोग गरेर सजिलै बताउन सकिन्छ । आधुनिक नयाँ पुस्ता अहिले सामाजिक सञ्जालमा समेत नयाँ प्रयोग गरिरहेका छन् । उनीहरू हिजोआज शब्द लेख्न छाडेका छन्, सट्टामा इमोजी विकल्प बनेको छ ।भावनात्मक देखाउन इमोजीको बढी प्रयोग हुने बताउँछिन्, आकृति शर्मा । साथीहरूलाई सम्झिँदा होस् या उनीहरूका कुराले अचम्मित पार्दा उनी यसको प्रयोग गर्छिन् । शब्द लेख्नभन्दा उपलब्ध स्टिकरको प्रयोग गरेर अनलाइनमा धेरै साथीसँग एकै पटक कुरा गर्न सकिने उनको भनाइ छ ।

कसैको कुराले दिक्क लाग्दा या आश्चर्यमा पार्दा उनी इमोजी प्रयोग गरिहाल्छिन् ।सामाजिक सञ्जालतिर शब्दभन्दा इमोजी बढी प्रभावकारी हुने शर्मा बताउँछिन् । ‘अब साथीहरूलाई सम्झिएको छु भन्नु परेन, पानको पात पठाइदियो बुझिहाल्छन् । रमाइलो गरिरहेको छु भन्न परेन, इमोजीबाटै संकेत दिए भइहाल्छ,’ उनी भन्छिन्, ‘पढ्नभन्दा यस्ता कुरा हेर्नलाई रमाइलो पनि हुन्छ ।’ शब्दभन्दा शक्तिशाली सामाजिक सञ्जालले मान्छेलाई भावनात्मक नभई कठोर र एक्लो बनाइरहेको आरोप लागिरहँदा इमोजीले थोरै भए पनि सामूहिकताको भावना पैदा गराएको छ । शब्दमा भन्न गाह्रो हुने कुरा यसमार्फत् सजिलै प्रस्तुत गर्न सकिन्छ । साथीसंगीसँग जिस्किँदा, असहमति जनाउँदा, खुशी हुँदा मात्र होइन, प्रेम प्रस्ताव राख्नसमेत इमोजीले सजिलो बनाएको छ । यास्मिन मल्ल साथीहरूसँग कुरा गर्दा स्माइली स्टिकर बढी प्रयोग गर्छिन् । अन्य भावभंगी पनि उनको रोजाइमा पर्छन् । उनले यसको प्रयोग गर्न थालेको दुई वर्षजति भयो । फेसबुक चलाउन थालेपछि साथीहरूले हाल्ने तस्बिर र स्ट्याटसहरूमा उनले यस्तो स्टिकर देख्थिन् । तर, उनलाई यसबारे धेरै थाहा थिएन । पछिपछि यसको प्रयोग उनलाई पनि रमाइलो लाग्दै गयो । भन्छिन्, ‘फोटो हालेर इमोजी जोडेपछि म के गर्दैछु, कस्तो अवस्थामा छु भन्ने कुरा मान्छेले सीधै बुझ्छन् । धेरै लामो कुरा भन्नै पर्दैन ।’ साथीहरूसँग कुरा गरिरहँदा धेरै लामो शब्द लेख्नुभन्दा एउटा स्टिकर पठाइदिँदा सजिलो हुने मल्लको बुझाइ छ ।

लेखेका कुरा पढ्न पनि अल्छि लाग्ने र यसले मनोरञ्जन पनि दिने हुनाले आकर्षण बढेजस्तो लाग्छ, उनलाई । इमोजीले आफूले भन्न चाहेकोभन्दा बढी बोल्ने हुनाले साथीलाई पठाउन रमाउँछिन्, उनी । शब्दभन्दा चित्रहरूले बढी सन्देश दिने बताउँछन्, लिवांगी । साथीहरूले लेख्ने ‘स्ट्याटस’ पढ्नुभन्दा उनको ध्यान इमोजीतिर हुन्छ । ‘अरूले फेसबुकमा लेखेका लामा–लामा कुरा पढेर बस्ने फुर्सद छैन, कसैलाई । प्रयोग गरेको इमोजीबाटै सबै कुरा बुझिन्छ,’ उनी भन्छन्, ‘यो स्ल्याङ वर्डजस्तै हो । थोरै बोलेर धेरै बुझिने ।’

इमोजी रंगीचंगी हुने भएकाले सामाजिक सञ्जालमा लेखेका कुराहरूलाई आकर्षक बनाउन पनि आफूले यसको प्रयोग गर्ने बताउँछन् लिवांगी । शब्दमार्फत् भन्न खोजेका सबै कुरा प्रस्तुत गर्न सकिँदैन । तपाईं प्रेममा पर्दा होस् या दुःखी हुँदा, भावनालाई शब्दमा ढाल्न गाह्रो हुन्छ, इमोजीमा व्यक्त गर्न सजिलो । फेसनकै रूपमा अन्य क्षेत्रजस्तै सामाजिक सञ्जालमा आएको फेसनको रूपमा व्याख्या गर्न सकिन्छ इमोजीलाई । युवामाझ स्मार्ट फोनको सहजताले यसको प्रयोग द्रुत बनेको हो । धेरैले यसलाई रमाइलोका रूपमा लिने भएकाले आफन्तहरूसँग कुरा गर्दा इमोजीको आदानप्रदान हुँदैन । शर्मा पनि सोही कुरामा सहमत छिन् । शर्माले इमोजीको प्रयोग गर्न थालेको दुई वर्षजति भयो ।

यसअघि उनले आफ्नो फेसबुकमा देखे पनि यससम्बन्धी कुनै जानकारी थिएन । विभिन्न भावमा देखा पर्ने स्टिकरको अर्थ पनि उनले बुझेकी थिइनन् । मान्छेहरूले यस्ता स्टिकर कहाँबाट ल्याउँछन्, अर्थ कसरी याद गर्छन् भन्ने कुराले अचम्मित पाथ्र्याे । स्मार्ट फोन बोक्न थालेपछि इमोजीबारे जानकारी पाएको उनको भनाइ छ । पछिल्लो समय साथीहरूसँग कुरा गर्दा कहिलेकाहीँ शब्दभन्दा धेरै इमोजीको प्रयोग गर्छिन्, उनी । भन्छिन्, ‘बानी नै लागिसक्यो । एउटा शब्द लेख्यो, त्यसपछि हात इमोजीको फाइलतिर जान्छ ।’हिजोआज च्याटमा साथीहरूलाई बोल्न आग्रह गर्दा ‘हेल्लो’ भन्ने चलन घटेको छ, त्यसको ठाउँमा हात उठाएको इमोजीको प्रयोग हुन्छ ।

स्कुले विद्यार्थीदेखि विश्वविद्यालय पढ्दै गरेकाहरू सम्मले ‘व्यस्त छु’ भनेर लेख्न छाडेका छन्, बरु ल्यापटप चलाइरहेको लगायत इमोजी संकेत पठाउँछन् । मल्ल पहिले–पहिले यसको प्रयोग धेरै गर्दिनथिन् । कतिपय स्टिकरको प्रयोग कस्तो सन्दर्भमा गर्ने भनेर उनलाई थाहा पनि थिएन । साथीहरूले म्यासेन्जरदेखि तस्बिर हाल्दासम्म इमोजीको प्रयोग गर्न थालेपछि हिजोआज उनी पनि यसैमा अभ्यस्थ हुन थालेकी छन् । भन्छिन्, ‘लेखिरहनुभन्दा स्टिकर पठाउनै सजिलो ।’

SHARE