प्रदेश सभा सदस्य मीना गुरुङ सम्मानित

पोखरा, ३०  बैशाख

तमु(गुरुङ)सञ्चारकर्मी संघ कास्कीले शनिवारदेखि पोखरामा तमु भाषा लेखन शैलीबारे दुईदिने प्रशिक्षण शुरु गरेको छ ।

पोखरा ११ रानीपौवा शक्तिघाटस्थित तमु प्ये ल्हु संघको केन्द्रीय महिला समितिको सभाहलमा आयोजित तमु भाषा लेखन शैलीबारे प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि ४ नं. प्रदेशकी प्रदेश सभा सदस्य मीना गुरुङले दीप प्रज्वलन साथै व्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको हो।तमु(गुरुङ)सञ्चारकर्मी संघकी केन्द्रीय अध्यक्ष समेत रहनुभएकी प्रमुख अतिथि मीना गुरुङ प्रदेश नं. ४ को प्रदेश सभा सदस्य चयन हुनुभएको भन्दै तमु(गुरुङ)सञ्चारकर्मी संघ केन्द्रीय समिति र तमु(गुरुङ)सञ्चारकर्मी संघ कास्की शाखाको तर्फबाट सम्मानपत्र, दोसल्ला, मालाबाट सम्मानित हुनुभयो। सम्मानित सांसद गुरुङलाई तमु(गुरुङ)सञ्चारकर्मी संघ केन्द्रीय सदस्य मणिराज सरब्ज तमु र कास्की जिल्ला अध्यक्ष शान्ति तमुले बधाई ज्ञापन गर्नुहुदै सम्मान गर्नुभएको हो ।

सम्मानित प्रमुख अतिथि प्रदेश सभा सदस्य मीना गुरुङले तमु भाषा लोप हुदै आफुले मातृभाषा नजान्दाको पीडा अरुले गर्न नपरोस् भन्नुभयो। तमु भाषा संरक्षण र विकासका लागि प्रदेश सभाबाट निती बनाउन आफुले सक्दो पहल गर्ने बताउनुहुदै युवा पुस्तालाई आफ्नो मातृ भाषा(तमु भाषा)हस्तान्तरण गर्न तमु भाषा लेखन शैली प्रशिक्षण कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गर्नुभयो। विगतमा तमु समुदाय माथिको विभेद अन्त्यका लागि अब बौद्धिक एवं मनोबैज्ञानिक संघर्ष जरुरी भएको बताउनुहुदै सांसद गुरुङले तमुहरुको एकता आवाश्यकतामा जोड दिनुभयो। पहिचानसहितको तमुवान प्रदेश नामाकरण आफ्नो लागि गर्वको विषय भएकाले नामाकरणका लागि पहल गर्ने उहाँको भनाई थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमु(गुरुङ)सञ्चारकर्मी संघ नेपालका संस्थापक संयोजक तथा फोनिजका प्रदेश नं.४ का इञ्चार्ज हुमबहादुर तमुले लोप हुदै गएको तमु भाषा संरक्षणको लागि प्रदेश सरकारले उचित निती, कार्यक्रम तयका साथै तमुवान प्रदेश घोषणा गरिनुपर्ने बताउनुभयो।सम्मानित प्रदेश सभा सदस्य मीना गुरुङलाई बधाई ज्ञापन गर्नुहुदै उहाँले तमु भाषा संरक्षण, विकास र तमु समुदायको पहिचानका लागि पहल गर्न आग्रह गर्नुभयो।

तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी तमुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुहुदै तमु भाषा संरक्षणका लागि संस्थागत तथा घर घरबाट पहल हुनुपर्ने बताउनुभयो।

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिकी अध्यक्ष पुष्पा तमुले शुभकामना व्यक्त गर्नुहुदै प्रशिक्षणमा सिकेका ज्ञान व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो।

तमु(गुरुङ)सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति तमुको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा कोषाध्यक्ष शिला तमुले स्वागत र सचिव सुरोज तमुले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा तमु प्ये ल्हु संघ अमेरिकाका अध्यक्ष नरबीर तमुलाई तमु संचारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति तमु र तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी तमुले क्रेगी र माला लगाएर स्वागत गर्नुभएको थियो।

दुईदिने तमु भाषा लेखन शैली प्रशिक्षणको बारेमा प्रशिक्षण अभियानका अनुगमनकर्ता तथा तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले तमु भाषा लेखन शैली तालिम अभियानले लोप हुदै गएको तमु भाषा संरक्षणका साथै बोलिदै आएको तमु भाषा लेखनमा एक रुपता ल्याउने भन्दै नयाँ पुस्तालाई मातृभाषा हस्तान्तरणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो।

तमु प्ये ल्हु संघ आवद्ध विभिन्न समाज संघ संस्थाहरुबाट करिब ५० जनाको सहभागीता रहेको कार्यक्रममा सहजकर्ता बुद्धिप्रसाद तमु र गमबहादुर तमुले सहजीकरण गर्नुभएको छ ।

तमु(गुरुङ)सञ्चारकर्मी संघ कास्कीद्धारा आयोजित उक्त कार्यक्रमका लागि तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको विशेष सहयोग, हिमाली आदिवासी समाज र तमु धिं नेपालको सहयोग रहेको छ ।

SHARE