जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेर एक सय ४३ पुग्यो

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ । एक सय ६६ जना घाइते भएका छन् ।

जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी सबैभन्दा धेरै जाजरकोटमा एक सय ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । जाजरकोटमा भूकम्पमा परी ८१ जना घाइते भएका छन् । जसमा ३३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने २२ जना घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पमा परी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । जसमध्ये ३० जना उपचारपछि डिस्चार्ज भएका छन् भने ४० जना उपचाररत छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

SHARE