लप्सीफेदी सबस्टेशन निर्माण सुचारुका लागि क्याम्प खडा गर्न आएका प्रहरी र स्थानीयबिच झडप

काठमाडौँको बोझिनीमा लप्सीफेदी सबस्टेशन सुचारु गर्न प्रहरी क्याम्प निर्माण गर्न आएका सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपमा जयमान वाइबा, हर्कमान वाइबा, शुकबहादुर वाइबा, सूर्यमान तामाङ लगायत पक्राउ परेका छन् । त्यस्तै सचिव तामाङ, तिउरी तामाङ, मानबहादुर तामाङ, सन्चिमाया लामा, फुसाङमाया लामा, मनोज तामाङ लगायत घाइते भएको छन् ।

सवस्टेशन निर्माणस्थल बोझेनीमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प निर्माण गर्न सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनासहितको टुकडी शुक्रवार बेलुका त्यहाँ पुगेका थियो। तर स्थानीयले सशस्त्र क्याम्प स्थापना गर्न नदिने भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो।

समान नेपालले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले इतिहासदेखि सिमान्तिकरणमा पारिएका आदिवासी तथा स्थानीय जनताहरूको न्यायपूर्ण मागहरूलाई सम्बोधन गरेर आदिवासीको भूमि अधिकार रक्षा गर्दै जनभावना अनुकूल विकास गर्नुपर्नेमा सैनिक परिचालन, धरपकड तथा दमनमार्फत काम अगाडी बढाउने प्रयत्न गरिरहेको छ । जनताको शान्तिपूर्ण आन्दोलनमा व्यापक दमन गर्ने, भाडाका गुन्डा परिचालन गरेर आन्दोलनकारीमाथि मरणासन्न कुटपिट गर्ने तथा जनधनको क्षति पुऱ्याउने कार्य विधिको शासन विपरीत छ रहेको बताइएको छ ।

सशस्त्र प्रहरीको क्याम्प बनाउन नदिने पक्षले राति अबेरसम्म फेसबुक लाइभ गरेका थिए। लाइभमा देखाइए अनुसार आन्दोलनकारीहरूले राति प्रहरीको क्याम्प व्यवस्थापन गर्न आग्रह गरिरहेका थिए।

प्रहरी र आन्दोलनकारीबिचको झडप स्थल सबस्टेशन निर्माण स्थलको आधा किलोमिटर दूरीमा मात्र पर्दछ। काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ लगायतमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभीका सबस्टेशन बन्ने योजना बनेको छ।

 

SHARE