काठमाडौँ । काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने समितिले जनाएको छ ।
बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् ।
समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले उक्त दिन रयोलीमा ५ हजार बौद्ध धर्मावलम्बीहरुलाई सहभागी गराउने योजना सुनाए । सो दिन हायात चौरमा आयोजना हुने औपचारिक कार्यक्रममा पूजापाठका साथै भगवान् बुद्धको अस्थि धातु दर्शन र गुरु दर्शनको व्यवस्थापन समेत समितिले गर्ने भएको छ ।










