पगला घोडा : पितृसत्तात्मक समाजमा महिलाको अस्तित्व

सरकारले सिर्जना गरेको नाटकले आज लामो यात्रा पार गरेर समय र परिस्थितिले कोल्टे फेरिसकेको छ । यद्यपि पितृसत्तात्मक समाज र त्यसभित्र महिलाको अवस्था भने फेरिएको छैन । महिलाका रहर, सपना र जीवनका हर उडानहरु पितृसत्ताकै अडानमा चलिरहेको हालको परिस्थितिमा पनि सरकारको नाटक उतिकै समय सान्दर्भिक लाग्छ ।

भारतीय प्रशिद्ध रंगकर्मी तथा निर्देशक बादल सरकारले सन् १९६० को दशकमा नाटक ‘पगला घोडा’ लाई लेखे । विभिन्न भाषामा अनुवादित प्रशिद्ध नाटक अहिले नेपाली भाषामा हामीसमक्ष आइपुगेको छ । थापागाउँस्थित मण्डला थिएटरमा पुस १२ देखि माघ ६ गतेसम्म मञ्चन जारी रहने नाटकको अनुवाद शिव खांड ठकुरीले गरेका छन् भने परिकल्पना तथा निर्देशन रंगकर्मी घनश्याम श्रेष्ठले गरेका हुन् । नाटकको आलेख सुपरिवेक्षण भने आशान्त शर्माको छ ।
‘पगला घोडा’मा रंगकर्मी सरकारले तत्कालीन पितृसत्तात्मक समाज र परिवेशमा महिलाको अवस्थालाई देखाउने जमर्काे गरेका थिए । जहाँ परम्परागत मूल्य, मान्यता, सामाजिक प्रतिष्ठा र सोचको परिणाम स्वरुप आम महिलाले आफ्नो स्वअस्तित्व नै समाप्त हुनेगरी दिनुपर्ने आहुतिलाई जीवन्त रुपमा देख्न सकिन्छ । सरकारले सिर्जना गरेको नाटकले आज लामो यात्रा पार गरेर समय र परिस्थितिले कोल्टे फेरिसकेको छ । यद्यपि पितृसत्तात्मक समाज र त्यसभित्र महिलाको अवस्था भने फेरिएको छैन । महिलाका रहर, सपना र जीवनका हर उडानहरु पितृसत्ताकै अडानमा चलिरहेको हालको परिस्थितिमा पनि सरकारको नाटक उतिकै समय सान्दर्भिक लाग्छ । अझैपनि समाजको प्रतिष्ठा र इज्जत महिलाले नै बोकेर हिँड्नुपर्ने यो समयमा सरकारले सिर्जना गरेका पात्रहरुले झैं आजका आम महिलाहरुले स्वच्छाले आफ्नो जीवन निर्वाह गर्न पाएका छैनन् । पितृसत्तात्मक समाजको पेलानमा उनीहरुले आफूलाई समर्पित गर्दै ज्यानै अर्पण गरिरहेका छन् । प्रेमीसँग इन्गेजमेन्ट टुटेपछि आफ्नै ज्यानमा आगो लगाइरहेका पुष्पा न्यौपानेहरु यो समयको पितृसत्ताका उपजहरु हुन् । यही यथार्थतालाई नेपाली रंगमञ्चमार्फत उतार्ने जमर्काे ‘पगला घोडा’मा गरिएको छ ।


‘पगला घोडा’को दृश्य एउटा सुनसान मसान घाटबाट सुरु हुन्छ । आत्महत्या गरेर मरेकी एउटी अपरिचित युवतीको लास जलिरहेको छ । उक्त युवतीको मृत्युमा मलामी हुन पुगेका चार जना पुरुषहरु मदिरा र तासमा अभ्यस्त हुन्छन् । युवतीको मृत्यु रहस्य खोतल्दै जाँदा ती चारै जनाले आफ्नो जीवनमा भएका उत्तारचढावहरु बेलिविस्तार लगाउँदै जान्छन् । आ–आफ्नो व्यक्तिगत एवं सामाजिक कारणले मृत्युको मुखमा धकेदिएका युवतीहरुको प्रतिबिम्ब तिनिहरुको मानसपटलमा घुम्दै आउँछन् । मध्यवर्गीय युवक शेखर(विजय ताम्राकार) जसले आफ्नी प्रेमीका सपनालाई गुमाएका छन् । सामाजिक प्रतिष्ठाकै लागि आफ्नो फुपूको छोरा प्रदीपसँग सपनाको विवाह गराइदिन्छ । सपनाले शेखरलाई माया गर्छिन् । उनीसँगै विवाह गर्न चाहन्छिन्, तर शेखरकै करकापमा खराब नियतको प्रदीपसँग उनको विवाह भएपछि उनले जीवन समाप्त पारिदिन्छिन् । अर्काे जोडी छन्, अशोक(बिम्ब अधिकारी) र माया । आधुनिक समाजमा हुर्केकी सम्पन्न घरकी माया अशोकलाई प्रेम गर्छिन् । मायाकै घरमा शिक्षक भएर आएका अशोक मायालाई परम्परागत पितृसत्तात्मक समाज अनुरुप ढाल्न खोज्छन् । उनको अडान अनुसार नै चलेकी मायालाई अशोकले आफूले भने जस्तो नभएको भन्दै छोडर हिँड्छन् । त्यही समयमा मायाले संसार छोड्छिन् । त्यस्तै अर्का जोडी छन्, रवि(प्रमोद अग्रहरी) र लक्ष्मी । ग्रामिण भेगकी सोझी लक्ष्मी आफूलाई सहायता गरेका ठेकेदार रविलाई आफूलाई सरणमा लिन आग्रह गर्छिन् । मालिकको घरबाट निस्केर उनी रविसँगै बस्न चाहन्छिन् । आर्थिक एवं सामाजिक कारण उनी लक्ष्मीलाई पुनः मालिककहाँ नै जान बाध्य पार्छन् । त्यसपश्चात् उनको पनि अन्त्य हुन्छ । अर्की युवती जसको जीवन अन्धकारमा बितेको छ । जसलाई विवाहकै दिन पतीले छोडेर जान्छ । उनी प्यारालाइसिस बाबुलाई लामो समयदेखि स्याहारिरहेकी छन् । उनी प्रेम र स्वतन्त्रता चाहन्छिन् । जुन कुरा उनी नजिकैको कपिल(आशान्त शर्मा)लाई थाहा हुन्छ । कपिल उनलाई माया गर्छन् तर आफ्नो कुरा व्यक्त गर्देनन् । युवतीले मर्नलाई विष माग्न आउँदा उनले सात दिनको समय माग्छन् । उक्त अवधिमा युवतीले देह त्याग गर्छिन् । यसरी चारै पुरुषहरुको आत्माका गढेर बसेका घटनाहरु एक पछि अर्काे गर्दै स्मृतिका रुपमा प्रकाशमा आउँछन् ।
नाटकले महिला र परुषबीचको अस्तित्व र तिनले सम्बन्धमा निभाउनुपर्ने भूमिकाबारे पनि औंल्याउँछ । महिलाका लागि प्रेम, जीवन र अस्तित्व भन्ने पक्ष पुरुषको हातमा निर्भर रहन्छन् भन्ने कुरा प्रस्ट्याउँछ ।

अर्काेतिर महिलाको प्रेम आगोको ज्वालाका रुपमा इंगित गरिएको छ । महिलाको प्रेम र जीवनका पछाडि दौडिने पुरुषलाई पगला घोडाको संज्ञा दिइएको छ । पगला घोडाकै सतहीलाई खोतल्दै पुरुषहरुको भयानक मानसिक द्वन्द्वलाई नाटकमा प्रस्तुत गरिएको छ । जुन पुरुषहरुको जीवनमा महिलाहरुको उपस्थिति मौखिक रुपमा सामान्य लाग्छ र पनि उनीहरुलाई छाया परेको स्मृतिले छोड्दैनन् । जसरी युवतीको लास जलिरहेको छ, त्यसरी नै चार पुरुषहरु पनि विगतका स्मृतिले जलिरहेको प्रतित हुन्छ । आफ्नो जीवनका आएकी युवतीको मृत्युको दोष उनीहरु स्वयं आफैं हो भन्ने भानमा पर्छन् ।
महिला भन्नु र तिनको महिमा पितृसत्तामा मदिरा र जुवाको खालमा बहस हुने आजसम्म पनि उस्तै चलिरहेको प्रवृत्तिलाई नाटकका दृश्यमा नजर लगाउँदै गर्दा लाग्छ, पितृसत्तात्मक समाजमा महिलाको प्रेम भनेकै मृत्यु हो । त्यसले महिला स्वयंलाई जलाएर खरानी बनाउँछ । महिलाको मृत्युमा स्वयं महिला नै भागिदार यो समाजले बनाइरहेको छ । कतै समाजको इज्जत, कतै परिवारको नाम, कतै कुल र वर्गका नाममा महिलाहरु पिल्सिरहेका छन् । दिनानु दिन जसो महिलाका मृत्युका खबरहरु सुनिन्छन् र पढिन्छन् । यसमा मुख्य दोष महिला भएरै जन्मनु नै थियो र भन्ने प्रश्न नाटकमा छन् । अर्काेतिर हामी मानिसहरु बाँचुन्जेल एक अर्कालाई बेवास्ता गर्छाैं तर मरेपछि सम्झने र मलामीको रुपमा देखापर्ने प्रवृतिलाई नाटकले व्यंग्य गरेको छ । महिला केवल पितृसत्ताको आवश्यकता र माग मात्र हुन् भन्ने कुरा रंगकर्मी सरकारको तत्कालीन भावलाई वर्तमान समयमा पनि उस्तै लाग्ने गरी श्रेष्ठले परिकल्पना गरेका छन् ।
चार जना युवतीको भूमिका कलाकार मलिका महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो र फिल्मी दुनियाँबाट रंगमञ्चमा प्रवेश गरेकी मलिकाले आफूलाई नाटकका प्रत्येक पात्रमा सबल रुपमा ढाल्ने प्रयत्न गरेकी छन् । सुनसान मसानघाटको वातावरणलाई झल्काउने अँध्यारो रातको प्रकाश र चिता जलिरहेको निरन्तर पृष्ठभूमिको ध्वनीले दर्शकलाई चार जना पुरुष मलामीहरुको साक्षी बनाउँछ । चार जना मलामीहरुले आफ्नो विगतलाई कोट्याउँदै जाँदा प्रत्येकको मानसपटलहरुमा आ–आफ्नो जीवनमा घटित् तितामीठा स्मरणहरु आउँछन् । प्रश्न उठ्छ, कथा नहुने मानिस को होला ? लाग्छ, सबैका आफ्नै कथा छन् । सबैका कथाहरु मिलेर नै एउटा सिंगो कथा बन्छ । जहाँ तपाईं , म र हाम्रा कथाहरु नै सलबलाइरहेका छन् ।

SHARE