४ दिनको फरकमा मेसीको दोस्रो ह्याट्रिक

अमेरिकाको मेजर लिग सकरमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् । आज बिहान भएको यस सिजनको अन्तिम खेलमा मेसीले ५७औँ मिनेटमा मैदान प्रवेश गरेर ३ गोल गर्न सफल भएका हुन् ।

न्यू इङ्ल्याण्डसँगको खेलमा इन्टर माइमी सुरुमा २–० ले पछि परेको थियो । न्यू इङ्ल्याण्डले खेलको दोस्रो र ३४औँ मिनेटमा गोल गर्दा इन्टर माइमी २–० ले पछि थियो । लुइज सुआरेजले ४०औँ र ४३औँ मिनेटमा गोल गरेर पहिलो हाफमै खेल बराबरी गर्न सफल भए । मेसी मैदान प्रवेश गर्नेवित्तिकै मायामीका मिडफिल्डर बेन्जामिन क्रेमास्चीले ५८औँ मिनेटमा गोल गरी टोलीलाई ३–२ को अग्रता दिलाए । त्यसपछिको खेलमा मेसीले ७८औँ, ८१ र ८९ मिनेटमा ३ गोल गरी ह्याट्रिक पूरा गर्न सफल भए । मेसीले ह्याट्रिक गोल गर्दा सुआरेजले २ गोलका लागि पास उपलब्ध गराए ।

६–२ को फराकिलो जित हात पार्दै इन्टर मायामीले सिजनको सानदार अन्त्य गरेको छ । मायामीले यस सिजनको उपाधि २ खेल अगावै जितिसकेको थियो ।

गत सिजन मायामीमा आवद्ध भएका मेसीले लिगमा पहिलो पटक ह्याट्रिक गर्न सफल भएका हुन् ।

४ दिनअघि उनले फिफा विश्वकप छनोट अन्तर्गत बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक गोल गर्न सफल भएका थिए । कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएपछि मेसी लामो समय मैदानमा उत्रिन सकेका थिएनन् । पछिल्लो पटक मैदान फर्किएपछि उनले उच्च प्रदर्शन गरिरहेका छन् ।

 

 

SHARE