हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक काई बर्ड नेपाल आइपुगेका छन्

विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका उनले फागुन ३ देखि ७ गतेसम्म पोखरामा आयोजना हुने नेपाल लिटरेचर फेस्टिभलमा सहभागिता जनाउनेछन् ।

बर्डको चर्चित पुस्तक ‘अमेरिकन प्रोमेथियस : द ट्रिम्प एण्ड ट्रयाजेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित रहेर उक्त फिल्मको निर्माण भएको हो ।लेखक बर्डसँग सोमबार नेपालको ठूलो मल्टिप्लेक्स चेन फिल्म हल क्यूएफएक्स तथा ‘ओपेनहाइमर’लाई नेपालमा रिलिज गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले भेटेका छन् ।

लाजिम्पाटको एक होटलमा भएको उक्त भेटमा दुईजनाबीच फिल्मबारे कुराकानी भएको थियो । सो अवसरमा बर्डले आफू लिखित पुस्तकबाट फिल्म कसरी बन्यो भन्नेबारे रोचक अनुभव पेश गरेका थिए ।क्रिस्टोफर नोलनले फिल्म बनाउनुअघि यसअघि पनि उक्त पुस्तकमाथि दुईजनाले पनि फिल्मका लागि प्रयास गरेको अनुभव उनले सेयर गरेका थिए । उनी बुधबार पोखरा जाने कार्यक्रम रहेको बुझिएको छ ।

फेस्टिभलमा बर्डको पुस्तकमाथि चर्चा हुनेछ । फेस्टिभल आयोजक मिमांशा ढुंगेलका अनुसार पत्रकार कुन्द दीक्षितले लेखक बर्डसँग किताबदेखि फिल्मसम्मको यात्राका बारेमा चर्चा गर्नेछन् ।फेस्टिभललगत्तै बर्ड फर्किनेछन् । उक्त पुस्तकबाट बर्डले सन् २००६ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए । ‘ओपेनहाइमर’ यस वर्षको ओस्कार अवार्डको १३ विधामा मनोनित छ । यो फिल्मले नेपाली बक्स अफिसमा पनि राम्रै कमाइ गरेको थियो ।

फेस्टिभलमा सहभागी हुन ‘क्लाउड’ र ‘आर्जी द ड्वार्फ’जस्ता चर्चित उपन्यासका लेखक चन्द्रहाँस चौधरी, चर्चित लेखिका जेनिस प्यारिअट पिन, गायक विपुल क्षेत्री लगायतका अतिथि पोखरा पुग्ने भएका छन् ।

SHARE