गोरखा । गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आफ्नो पाँचमहिने कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।
बुधबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत उनले संसद्मा रहेर पाँच महिनाको अवधिमा गरेका कामको विवरण ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार बुर्लाकोटी संसद्को अधिवेशनमा ९७ प्रतिशत उपस्थित भएका छन् । उनले जनसरोकारका विषयलाई संसद्मा सशक्त रूपमा उठाएको उल्लेख गरेका छन् ।
यस अवधिमा बुढीगण्डकी र भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेको उनले जानकारी दिए ।
आफूले प्राप्त गर्ने सेवासुविधाबाट पालुङटार नगरपालिका–३ का अतिविपन्न तथा बाढीमा बेपत्ता भएका तीन परिवारलाई खाद्यान्न वितरण गरेको र हावाहुरीले घरको छानो उडाएका दुई परिवारलाई घर छाउन आर्थिक सहयोग गरेको पनि उनले बताए ।
विपद् प्रभावित क्षेत्रका वडा तथा गाउँपालिकामा राहत र पुनर्निर्माणका काम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत भइरहेको जानकारी दिँदै उनले प्रभावित क्षेत्रमा कुनै समस्या भए आफूलाई जानकारी गराउन आग्रह गरे ।
“विपद् प्रभावित क्षेत्रमा कहीँकतै समस्या भए जानकारी गराउनुहोस् । केन्द्र सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल गर्नेछु”, उनले भने ।
पत्रकार सम्मेलनमा बुर्लाकोटीले शिक्षकहरूलाई राजनीतिक दलको आबद्धता त्याग्न आग्रह गर्दै दलमा आबद्ध भएको पाइए सरकारले कारबाही गर्ने बताए ।
उनले जिल्लाको विकास निर्माणको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै व्यवस्थित विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । वर्तमान सरकारले विकास आयोजनाको निरन्तर निगरानी सुरु गरेको बताउँदै उनले आयोजनामा हुने ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।
“विकास निर्माणका काम व्यवस्थित छैनन् । खानेपानी आयोजनाहरू अलपत्र छन् । अब आयोजनाहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्छ”, उनले भने ।









