लुम्बिनीका बिहार र गुम्बामा पर्यटक नराख्न होटल व्यवसायीको माग

लुम्बिनीका होटल व्यवसायीले लुम्बिनी विकास कोष क्षेत्रभित्रका बिहार र गुम्बामा पर्यटक राख्न रोक लगाउन माग गरेका छन् ।लुम्बिनी होटल संघ, नेपालले मंगलबार लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी समाधानको ठोस कदम अगाडि बढाउन माग गरेको छ ।

बिहार र गुम्बाले होटलहरुसँग प्रतिस्पर्धा गर्दै पर्यटक राख्दा होटल व्यवसाय संकटमा परेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।‘बिहार र गुम्बामा सयौं कोठाहरु पर्यटक राख्ने गरी बनाइएका छन्, बिहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्’, ज्ञवालीले भने–‘गुरुयोजनाको मर्मविपरीतको यस्तो कामको संरक्षण लुम्बिनी विकास कोषकै जिम्मेवार व्यक्तिबाट भएको छ यो स्थायीरुपमा रोकिनुपर्छ ।’

दशकौंदेखि यो माग उठाउँदै आएपनि यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र व्यवसायीको धैर्यताको सीमा सकिएको उनको भनाइ छ ।बिहारमा पर्यटक राखिँदा लुम्बिनी क्षेत्रका १० भन्दा बढी होटेल स्थायीरुपमा बन्द भएको र यो वर्ष थप होटलहरु बन्द हुने अवस्थामा पुगेको ज्ञवालीले बताए ।

संघका महासचिव पुरुषोत्तम अर्यालले बिहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईलाई संघले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री, संस्कृति तथा नागरिक उडड्यन तथा कोषका अध्यक्ष हितबहादुर तामाङलाई बोधार्थ पठाइएको छ ।ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने बताए ।

SHARE