दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दै

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने तयारी गरिरहेको छ।विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरीका अनुसार काठमाडौंको ३२ वटै वडा कार्यालयहरूबाट परिचयपत्र कार्ड वितरण गर्ने गरी तयारी भइरहेको छ।

‘वडा कार्यालयहरूबाट कार्ड वितरण गर्दा सेवाग्राहीहरूलाई सहज हुनुका साथै वितरण प्रक्रिया छिटो हुने अपेक्षा छ,’ निर्देशक केशरीले भने, ‘चैत दोस्रो सातादेखि काठमाडौंसहित १० जिल्लाको वडा कार्यालयबाट कार्ड वितरण गर्ने योजना छ।’

पछिल्लो समय सर्वसाधारणहरूले कार्ड वितरणमा ढिलाई भएको गुनासो गरिरहेका छन्। परिचयपत्र कार्ड जिल्ला प्रशासन कार्यालयहरूबाट वितरण हुन्छ। यसरी प्रशासन कार्यालयहरूबाट मात्रै कार्ड वितरण गर्दा समय लाग्ने र सर्वसाधारणहरू कार्ड लिन उपस्थित नहुने समस्या देखिएपछि विभागले वडास्तरबाटै कार्ड वितरण गर्ने योजना बनाएको हो। विभागले गत फागुन १७ गतेदेखि कञ्चनपुर जिल्लाको वडा कार्यालयहरूबाट कार्ड वितरण थालेको छ।

विभागका निर्देशक केशरीका अनुसार एक लाख ७२ लाख बढी कार्ड यस जिल्लाको वडा कार्यालयहरूबाट वितरण हुँदैछन्। तथ्यांकअनुसार गत फागुनको पहिलो सातासम्म राष्ट्रिय परिचयपत्रको लागि एक करोड ४० लाखभन्दा बढी नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्। यसमध्ये करिब ३० लाख कार्ड छापिसकेका छन्।

विभागसँग प्रति घण्टा १५०० कार्ड छाप्ने क्षमताको मेसिन छ। तर कार्ड छपाइपछि प्रत्येक कार्डको गुणस्तर र छापिएको विवरण जाँच हुन्छ। यसलाई जिल्लाहरूमा पुर्‍याउन प्याकेजिङ गरिनुपर्छ। यसकारण विभागले अहिले दैनिक एक सिफ्टमा ८ हजार पाँच सय कार्ड छापिरहेको छ।वितरणको गति बढाएसँगै आवश्यकताअनुसार दैनिक कार्ड छपाईंको संख्या पनि बढाइने विभागले जनाएको छ।

SHARE