महानगरपालिकाले थप्यो छात्रवृत्तिका लागि आवेदन दिने म्याद

काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ । शिक्षा विभागले सूचना जारी गर्दै आज (साउन १२ गते राती ११ः५९) सम्म दिइएको अवधि थप गरेको हो । यसपछि साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने भएको छ ।

कागजपत्र मिलाउन समय लागेको, प्रमाण पत्र प्राप्त नभएको जस्ता कारण आफूहरु आवेदन दिनबाट बञ्चित भएको विद्यार्थीहरुले गुनासो गरेपछि ३ दिन म्याद थपिएको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो । ‘धेरै विद्यार्थीहरुलाई आवेदन दिने अवसर उपलब्ध गराउन म्याद थपिएको हो ।’ कोइरालाले भन्नुभयो, ‘आवेदन दिने समय थप भए पनि परीक्षाको मिति भने परिवर्तन गरिएको छैन ।’

करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ । जसमा सबैभन्दा धेरै विज्ञान विषयका लागि छन् ।

SHARE