बालुवाटार र बुढानिलकण्ठले छानेका उम्मेदवारले जिते बार भष्म हुन्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

‘व्यवसायिक कानुन व्यबसायी समूहका’ का उम्मेदवारले नेपाल बार एसोसिएशनलाई सरकार र दलीय हस्तक्षेपबाट मुक्त गर्न आफुहरुले जित्नुपर्ने बताएका छन् । बिहीबार राजधानीको संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले बारमा पनि बालुवाटार र बुढानिलकण्ठको ठाडो आदेशमा आफ्ना रोजाईका व्यक्ति उम्मेदवार खडा गरेको दाबी गरे ।

सो समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले एकपछि अर्को गर्दै राज्यका हरेक निकायलाई राजनीतिकरण तथा दलीयकरण गर्दा राज्य असफलताको दिशामा गइरहेकोे जिकीर गरे । २७ औं बार केन्द्रीय समितिको चुनावी उम्मेदवारका लागि सत्ता गठबन्धनका दुई ठूला दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो हस्तक्षेप गरेको आरोप लगाउँदै श्रेष्ठले भने, ‘कानून व्यवसायीको स्वतन्त्र पेसागत धर्म र साङ्गठनिक आत्मनिर्णयको अधिकारविरुद्ध बालुवाटर र बुढानिलकण्ठले आफ्ना मान्छे उभ्याउनु उचित हो ?’

श्रेष्ठले आफ्ना प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र र उनी आवद्ध संगठनको आधिकारिक उम्मेदवार नभएको र त्रिभुवन विश्वविद्यालयका पूर्णकालिन प्राध्यापकसमेत भएकोले पनि नीतिसंगत उम्मेदवार बन्न नपाउने जिकीर गरे । प्रा.डा. मिश्र नेतृत्वको ‘बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहसँग गतिला एजेण्डा नभएको बताउँदै श्रेष्ठले भने, ‘उहाँहरु चुनावी प्रतिबद्धता र मौलिक एजेण्डा त हाम्रो चोरेर छाप्नु हुन्छ, यदि उहाँहरुले जिते बारको बचेखुचेको प्रतिष्ठा माटोमा मिलाउने निश्चित छ ।’

श्रेष्ठले आफूहरुसँग बारको प्रतिष्ठा र गरिमा बढाउने मात्रै नभएर न्यायालयभित्रको बेथिति र भ्रष्ट्राचारको अन्त्य गर्ने प्रष्ट एजेण्डा भएको बताउँदै भने, ‘हामीसँग साढे तीन दशकको यो क्षेत्रमा अनुभव छ र भ्रष्ट्राचारको जालो च्यात्ने अस्त्र अनि दृढ प्रतिवद्धता पनि, त्यसैले हाम्रो टिमलाई जिताउनहोस् ।’

श्रेष्ठले न्यायाधीश पनि भ्रष्ट भएको भन्दै घरमा छापा मारे पैसा भेटिन सक्ने दाबी गरे । ‘नेपालका न्यायाधीशका घरमा पनि खोजे पैसा भेटिन सक्छ’, उनले भने, ‘बारले सामाजिक उत्तरदायित्व निर्वाह गरी त्यस्तो भ्रष्ट्राचारविरुद्ध कार्य गर्न सक्नुपर्छ ।’

सोही समूहबाट महाचिवका उम्मेदवार अधिवक्ता यज्ञमणि न्यौपानेले देश संघीय संरचनामा गइसक्दा न्यायालय र बरमा भने अझै पनि एकात्मकता चल्दा जनताले सास्ती खेप्नु परेको बताए । ‘अहिले पनि न्याय क्षेत्रमा पुरानै संरचना अनि सोच छ त्यसलाई भत्काउन हरेक अदालतमा बार युनिट राख्नुपर्ने छ’, उनले भने ।

न्यौपानेले अदालतमा व्यापक भ्रष्ट्राचार हुने र त्यसमा बारले पनि बोल्न नसक्ने अवस्था हुनुको परिणाम न्याय क्षेत्रमा पनि दलतन्त्र छिर्नु मुख्य कारण भएकाले त्यसलाई भत्काउन आफ्नो समुहलाई जिताउन आग्रह गरे ।

SHARE