दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनाको प्रतिवेदन कहाँ पुग्यो?

बालकुमारी घटना जाँचबुझ आयोगले छानबिन प्रतिवेदन बुझाएको एक महिना बितिसक्दा पनि कार्यान्वयन भएको छैन।यो पुस १३ को घटना हो। ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमबारे प्रदर्शन भइरहेको थियो। त्यही बेला तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारी पुगेका थिए।

आक्रोशित प्रदर्शनकारीले उनी सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडी जलाइदिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत मारिए।उक्त घटनामा सरकारले जिल्ला प्रहरी परिसर ललितपुरका फिल्ड कमान्डर (डिएसपी) उमेश लम्साल र मन्त्री ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गर्‍यो। इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदी पनि निलम्बनमा परे। ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डित र परिसरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई कारबाहीस्वरूप सरूवा गरियो।

तत्कालीन प्रतिपक्षी नेकपा एमालेले घटनामा उच्चस्तरीय छानबिन माग गरेपछि पुस १६ को मन्त्रिपरिषद बैठकले जाँचबुझ आयोग गठन गरेको थियो।जाँचबुझ आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्तासमेत रहेका नारायणप्रसाद भट्टराई सदस्य थिए।

पुस २० बाट काम सुरू गरेको आयोगले फागुन ४ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन।यसबीच सत्ता गठबन्धन फेरिएपछि नारायणकाजी परराष्ट्र मन्त्रालय पुगेका छन्। बालकुमारी घटनाको प्रतिवेदन भने ओझेल परेको छ।

SHARE