त्रिशूली नदीको बाढीले बगायो झोलुङ्गे पुल

अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन्।

गोरखा र धादिङ्ग तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

बाढीले आज बिहान गोरखाको सहिद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको उनले बताए।। बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो।

सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ छ। बाढीका कारण गोरखाको सहिद लखन–३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेका छन्।

 

SHARE