धुलिखेल । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधुकुमार चौंलागाईं निर्वाचित भएका छन्।
फागुन २१ मा सम्पन्न निर्वाचनको मतगणनाअनुसार चौंलागाईंले २९ हजार ६१८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत प्राप्त गरेका छन्। चौंलागाईंले करिब १० हजार मतान्तरले जीत निकालेका हुन्।
निर्वाचनअघि यस क्षेत्रमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि एमालेका अमित लामा चौथो स्थानमा सीमित भए। उनले १३ हजार ८१४ मत पाए। नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे।
काभ्रेमा यसपटक रास्वपाको प्रभाव देखिएको छ। यसअघि नै क्षेत्र नम्बर २ मा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भइसकेका छन्। यहाँ उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका थिए।









