‘रवि लामिछानेलाई लामखुट्टेले टोक्ने चिन्ता डा.तोसिमालाई’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले कारागारका कैदीलाई डेंगी संक्रमण हुने चिन्ता व्यक्त गरेकी छिन् । कार्कीले अहिले सबैभन्दा बढी डेंगी फैलिएको पोखराकै कारागारमा लामखुट्टेको टोकाइबाट बच्न कुनै उपाय नअपनाइएको बताएकी हुन् ।

डा.कार्कीले आज फेसबुकमा पोस्ट गर्दै देशैभरका कारागारमा लामखुट्टे भगाउने धुप तथा लिक्वीडको व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरेकी छिन्।

‘कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ । कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ?’ उनले प्रश्न गरेकी छिन् ।

देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गी नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धुप तथा लिक्वीडको व्यवस्था गर्न डा.कार्कीले माग गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कार्कीलगायत रास्वपाको टोली समेत केही दिन पोखरामा प्रदर्शन गरी फर्किएका छन् ।

डा.कार्कीको पोस्टमा रवि लामिछाने थुनामा परेपछि मात्रै थुनुवाको चिन्ता गरेको हो ? भन्दै उनको पोस्टमा प्रतिक्रियाहरु आएका छन् ।

SHARE