सामाजिक सञ्जालहरूमा गलत तथा भ्रामक सूचना प्रवाह भइरहेकोले सर्वसाधारणलाई नेपाल टेलिकमले सचेत हुन आग्रह गरेको छ । एक सूचना जारी गर्दै टेलिकमले क्रिसमसको अवसरमा ५ हजारसम्मको नगद तथा उपहार वितरण गर्ने खालका गलत सूचना प्रवाह भइरहेकाप्रति सचेत रहन आग्रह गरेको हो ।
‘हाल‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर रू. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ’, सूचनामा भनिएको छ ।
टेलिकमले कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाका बारेमा यकिन गर्न भनेको छ ।