राज्य अहिले देशद्रोहमा लागेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले बताएका छन् । शुक्रबार इटहरीमा किरात राई बान्तावा खिमको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुक्कुमलुङ (पाथिभरा)मा जबरजस्त केबलकार निर्माण गर्न खोजेर राज्यले देशद्रोह गरेको मन्त्री किरातीको भनाइ छ । देशको माटोमा सिर्जित सभ्यता तथा आस्थामाथि राज्यले दमन गर्नु र त्यसलाई भत्काउनु भनेको राज्यद्रोह भएको उनको टिप्पणी छ । ‘राज्य आज देशद्रोहमा लागेकै छ । आज मुक्कुमलुङमा केबलकार बनाइराखेको छ । मुक्कुमलुङमा केबल तत्काल बन्द गर्नुपर्छ राज्यले । वार्ता र संवाद भन्ने शब्दमा पनि अलिकति कतै छलछाम जस्तो अनुभूति हुन्छ’, उनले प्रश्न गर्दै भने, ‘के वार्तापछि मुक्कुमलुङमा केबलकार बनाउने हो ? भोलि पशुपतिमा बनाउन खोज्ला, लुम्बिनीमा बनाउन खोज्ला हामीले दिने हो ?’
प्रतिनिधिसभाका सांसद्समेत रहेका पूर्वमन्त्री किरातीले आदिवासीहरु सांस्कृतिक रुपमा बलियो भएको बताउँदै त्यस्तो शक्तिलाई राजनीतिक शक्तिमा बदल्नुपर्ने पनि बताए । राजनीतिक शक्तिमा बदल्न नसके राज्य निरंकुश हुँदा सांस्कृतिक धरोहरहरु भत्काइदिन सक्ने खतरा हुने उनको भनाइ छ ।
पछिल्लो समय मुक्कुमलुङ, त्यसअघि खुवालुङ भत्काउने राज्यको योजना त्यसको उदाहरण भएको उनले उल्लेख गरे ।
पूर्वमन्त्री किरातीले मुक्कुमलुङमा आदिवासीलाई दबाउन आदिवासी नै प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरे । रामकृष्ण ढकालले गाएको गीत सम्झँदै उनले ‘हिरा काट्न हिरा’ नै प्रयोग भइरहेको बताए ।
‘राजा ल्याउन भनेर सडकमा आदिवासीकै छोरा अगाडि ल्याइँदैछ । राजा जसले हाम्रो इतिहास कुल्चाइदिए । हाम्रो संस्कृति नामेट पारिदिए’, उनले भने, ‘अहिले मुक्कुमलुङमा पनि लिम्बूविरुद्ध लिम्बू नै प्रयोग भइरहेको छ । शासकको फुटाउ अनि राज गर भन्ने नीति हामीले कहिले बुझ्ने ?’