लोकतन्त्र र राजतन्त्रको तुलनै हुन सक्दैन
पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमै प्रतिस्पर्धात्मक तवरले स्थान हासिल गर्न राजतन्त्र पक्षधरलाई आग्रह गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै उनले गणतन्त्र जस्तो राजतन्त्र नभएको भन्दै राजावादीलाई लोकतान्त्रिक विधिमा रहिरहन अनुरोध गरेका हुन् ।
उनले ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै लोकतान्त्रिक विधिमा आए कुनै पनि आपत्ति नरहने बताएका हुन् । ‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुहोस्’, उनले भने, ‘हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो उति नै व्यक्तिका रूपमा ज्ञानेन्द्र शाहको पनि हो । यो कुरा सबै राजनीतिक दलले बुझेका छन् । यसलाई कसैले कमजोरी नठानोस् ।’
प्रचण्डले राजतन्त्र जस्तो गणतन्त्रले अरूलाई निषेध नगर्ने उल्लेख गर्दै सबै विचारका व्यक्ति संसदमा रहेको बताए । त्यसैले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने उनको भनाइ छ । ‘सार्वभौम भइसकेको जनता फेरि रैती हुन्छन् भन्ने लागेको छ भने त्योभन्दा अर्को भ्रम हुनै सक्दैन’, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्रमा हिजो टाउकाको मूल्य तोकिएको थियो । आज गणतन्त्रमा हेर्नुहोस् राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ ।’
ज्ञानेन्द्र शाह पोखरामा एक साता लामो बसाइँपछि काठमाडौं फर्कदा राजावादीहरूले जुलुस निकालेर स्वागत गरेका थिए । जुलुसपछि प्रचण्डले संसदमा विशेष सम्बोधन गर्दै आफ्नो धारणा व्यक्त गरेका हुन् ।










