अमेरिकी संस्था डाइरेक्ट रिलिफ इन्टरनेशनलले मस्तिष्कघातका बिरामीलाई आवश्यक पर्ने ‘अल्टिप्लेज’ ८०० भायल औषधि प्रदान गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बिच संस्थाले औषधि हस्तान्तरण गरेको हो ।
रिलिफका नेपाल प्रतिनिधि वान हार्ट वल्र्डवाइडले स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा। पवनजङ रायमाझीलाई औषधि हस्तान्तरण गरेको हो ।
डाइरेक्ट रिलिफ इन्टरनेशनल नामक अमेरिकी संस्थाले नेपाललाई ५,६६,३८१९४ बराबरको औषधि प्रदान गरेको हो ।
औषधि निकै महङ्गो भएकाले विपन्न बिरामीले खर्च व्यवस्था गर्न मुस्किल हुने भन्दै दातासँग अनुरोध गरेर ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले बताए । ‘राज्यले किनेर औषधि आवश्यक नागरिकलाई दिन सक्ने अवस्था थिएन’, उनले भने, ‘औषधि निकै महङ्गो रहेछ, विपन्न बिरामीले अफोर्ड गर्नै सक्दैन ।’ उनले ८०० भायल औषधि दाताबाट प्राप्त भएको जानकारी गराउँदै यो विपन्न नागरिकलाई उपचारका लागि गरिएको प्रयास भएको बताए ।
यो औषधि मस्तिष्कघात भएका बिरामीलाई सघन रूपमा प्रदान गरिने औषधि हो । मस्तिष्कघात भएको चार घण्टाभित्र औषधि बिरामीलाई प्रदान गरिसक्नुपर्छ । विज्ञका अनुसार एक भायलमा २० मिलिलिटर औषधि हुन्छ । हालको डलर मूल्यअनुसार यसको मूल्य नेपाली रुपैयाँ ७० हजार पर्छ ।
प्राप्त औषधि हालका लागि तीन वटा अस्पतालबाट प्रदान गरिने मन्त्री पौडेलले जानकारी दिए । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट पहिलो चरणमा औषधि प्राप्त हुनेछ । निर्देशक डा। रायमाझीका अनुसार टिएम न्यूरोलोजी चिकित्सक भएका अस्पतालबाट औषधि प्रदानको सुरुवात गरिने भएको हो ।
ती अस्पताललाई आवश्यकता अनुसार स्वास्थ्य सेवा विभागमार्फत् औषधि वितरण गरिनेछ ।