काठमाडौं । नेपाल पर्यटन यातायात व्यवसायी संघको ११ औं अधिवेशनबाट भिम बहादुर गोले अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि गोले मात्र उम्मेदवार भएकाले प्रमुख निर्वाचन अधिकृत हरीप्रसाद तिवारीले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
नवगठित समितिमा वरिष्ठ उपाध्यक्षमा विनोद तामाङ, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत प्रसाद तिमिल्सिना, सचिवमा टेकबहादुर पुन, कोषाध्यक्षमा तेजमान लामा रहनुभएको छ । यस्तै सदस्यमा बाजिराम घिमिरे, हरिकृष्ण हुमागाई र विष्णुबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

संघको २०६० सालमा स्थापना भएयता १०औं अधिवेशन सम्पन्न भइसकेको छ । ११औं अधिवेशनमा गोले समूहले ९ बुँदे ऐजेन्डा अघि सारेको थियो । त्यसमा एम्बोस्ड नम्बर प्लेटको विषयमा पर्यटन यातायातको अस्तित्व कायम राख्नुपर्ने, कम्पनीको नाममा दर्ता भएका रातो नम्बर प्लेटका सवारी सहज रूपमा सञ्चालन गर्नुपर्ने, सरकारसँग पर्किङ सुविधाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू समावेश छन् ।
यस्तै व्यवसायीहरूलाई समय–समयमा तालिम तथा अभिमुखीकरण दिने, हरेक प्रदेशमा संघका प्रादेशिक कार्यालय स्थापना गर्ने लगायतका विषयहरू पनि एजेन्डामा राखिएका छन् ।
संघको २२ औं साधारणसभा आगामी भदौ ५ गते काठमाडौंको लाजिम्पाटस्थित होटल शंकरमा आयोजना हुने भएको छ ।











