भक्तपुर – ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखाले दुईदिने पत्रकारिता तालिम सम्पन्न गरेको छ। तालिममा समाचार लेखनदेखि लिएर फोटोग्राफी, भिडियो ग्राफी, सम्पादन तथा व्यक्तित्व विकासजस्ता व्यावहारिक विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।
बौद्ध पिपलबोट, नागेश्वर गल्लिस्थित सेकुवा जक्सनमा आयोजित तालिममा २७ जना पत्रकार तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो।
तालिममा तामाङ पत्रकार संघका पूर्व अध्यक्ष विष्णु तामाङले समाचार लेखन, भक्तपुर जिल्ला शाखाका उपाध्यक्ष गणेश बज्र लामाले फोटोग्राफी, बिक्रम लामा मोक्तानले भिडियो ग्राफी तथा भिडियो सम्पादन, र उत्प्रेरक वक्ता विकाश देव योन्जनले सकारात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए।
सोमबार आयोजित उद्घाटन सत्रलाई पूर्व मन्त्री तथा संविधान सभा सदस्य रेशम बहादुर लामाले उद्घाटन गरेका थिए। तालिमको मंगलबार सम्पन्न समापन समारोहमा पूर्व मन्त्री तथा संविधान सभा सदस्य माननीय सूर्यमान दोङ (लालध्वज) प्रमुख अतिथि रहेका थिए।
समापन कार्यक्रममा ए.आई.जी टेक बहादुर तामाङ विशिष्ट अतिथि रहेका थिए भने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।