काठमाडौं। अधिवक्ता राजु बम्जन पेशाले कानुन व्यवसायी हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले २०७२ सालमा नेपालको संविधान जारी भएपछि कानून अध्ययन गर्ने निर्णय गरेका थिए । त्यसयता उनी चार/पाँच वर्षदेखि सक्रिय रूपमा कानून व्यवसायमा आबद्ध छन् र हाल कानूनमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् ।
हालै माइतीघर मण्डलामा कर्फ्यू लागू हुनुअघि संविधान हातमा लिएर सार्वजनिक रूपमा पढिरहेका उनको तस्बिर चर्चामा आयो । उनले सैनिकहरूको बारम्बारको आग्रहपछि पनि संविधान पढ्दै आफू आन्दोलन होइन, सांकेतिक सन्देश दिन आएको स्पष्ट पारेका थिए ।
बम्जनले जेन-जी आन्दोलनको भावनालाई समर्थन गर्दै तर निकास भने संविधानकै दायराभित्र खोजिनुपर्ने अडान सार्वजनिक गरेका छन् । संविधानप्रतिको गहिरो आस्था र नागरिकलाई त्यसप्रतिको अपनत्व जगाउने उद्देश्यले नै आफू माइतीघर पुगेर पढेको उनको भनाइ छ ।










