काठमाडौंमा जहाँ धेरै सपना हराउँछन्, त्यहीँ केही सपना संघर्षकै कारण अझ बलिया बन्छन्। राजधानीको भीडभाडभित्र हजारौं कथा हराइरहेका हुन्छन्। केही कथा भने संघर्षकै कारण अलग चिनिन्छन्। प्रिना तामाङको जीवनयात्रा त्यस्तै एउटा कथा हो । जहाँ अभावसँगको लडाइँ, सीपको निर्माण र सपनाको निरन्तर खोज, सुरुवात सानो हुन सक्छ, तर अठोट ठूलो थिए।
२०७१ सालतिर, सानै उमेरमै प्रिना काठमाडौं राजधानी आइन्। “केही बन्नु छ, आफूलाई प्रमाणित गर्नु छ” यो उनको भित्री विश्वास थियो। राजधानी उनको लागि अवसरको ढोका थियो, तर त्यो ढोका खोल्न उनले पहिले संघर्षको कडा ढुंगा फोड्नुपर्यो।

काठमाडौंमा उनको पहिलो पाइला कस्मेटिक होलसेल पसलबाट सुरु भयो। मासिक चार हजार रुपैयाँ तलब आजको समय सन्दर्भमा सानो देखिए पनि त्यतिबेला त्यो उनको आत्मनिर्भर यात्राको आधार थियो। बिहानदेखि बेलुकासम्म पसलमा काम गर्दै उनले ग्राहकसँग व्यवहार, बजारको समझ र अनुशासन सिकिन्।
त्यो कमाइ टिक्दैनथ्यो। उनी भन्छिन् “पहिलो कमाइ रमाइलोमै सक्थेँ।” तर त्यो रमाइलो संघर्षबीचको सानो राहत मात्र थियो। जीवनले उनलाई चाँडै गम्भीर बनायो। १६ वर्षकै उमेरदेखि जिम्मेवारी बोकेकी प्रिनाले ब्युटिसियन पेशा रोजिन्।
बेसिकदेखि सुरु भएको उनको सिकाइ यात्रा एड्भान्स हुँदै मास्टर लेभलसम्म पुग्यो।

यो उपलब्धि सहज थिएन। तालिम शुल्क जुटाउने समस्या, काम र पढाइ सँगसँगै धान्ने चुनौती, समय व्यवस्थापन यी सबै उनका लागि दैनिक परीक्षा जस्तै थिए। कतिपय दिन शरीरले साथ नदिँदा पनि उनले हार मानिनन्। “दुख, संघर्ष, आँसु सबै थियो, तर रोकिएन,” भन्ने उनको वाक्य केवल अनुभव होइन, उनको व्यक्तित्वको परिभाषा हो।
ब्युटिसियन क्षेत्रमा उनले केवल प्रमाणपत्र मात्र होइन, धैर्य, एकाग्रता र सौन्दर्यबोधजस्ता गुण पनि हासिल गरिन् जसले उनलाई पेशागत रूपमा मजबुत बनायो।

प्रिनाको यात्रा व्यक्तिगत सफलता मात्र होइन, प्रेरणाको स्रोत पनि हो। आफ्नै सीपको भरमा उभिन सकिन्छ भन्ने उदाहरण उनी बनेकी छन्। उनले आफूलाई स्थापित गर्ने क्रममा सिकेको अनुभव र सीपले अरू युवतीहरूलाई पनि आत्मनिर्भर बन्न सिकाएको छ । सौन्दर्य क्षेत्रमार्फत उनले समाजमा सीपमुखी रोजगारीको महत्व देखाएकी छन्।
अहिले प्रिना तामाङ आफ्नो क्षेत्रमा अझ सशक्त बन्ने लक्ष्यमा केन्द्रित छिन्। संघर्षका अनेकौं उकालो पार गर्दै उनले सिकेको सीप अब अरूलाई बाँड्ने यात्रामा रूपान्तरित भएको छ। ‘सिक्दै सिकाउँदै अघि बढ्ने’ उनको सिद्धान्तले धेरै युवतीलाई नयाँ बाटो देखाएको छ। उनले तालिम दिएका विद्यार्थीहरू आज आफ्नै पार्लर सञ्चालन गर्दै आत्मनिर्भर बनेका छन्, जसले उनको यात्रालाई थप अर्थपूर्ण बनाएको छ।

प्रिनाका लागि सफलता केवल व्यक्तिगत उपलब्धि होइन, अरूको जीवनमा परिवर्तन ल्याउनु पनि हो। त्यसैले उनी अझै सिक्ने, अझै सिकाउने र अझै धेरै सपना बोकेका हातहरूलाई उज्यालो दिशातर्फ डोर्याउने अभियानमा निरन्तर सक्रिय छिन्।
ब्युटिसियन पेशासँगै उनको अर्को सपना पनि जीवित छ,गायिका बन्ने। सानैदेखि संगीतप्रति आकर्षित प्रिना आज पनि त्यो सपना बोकिरहेकी छन्। र संगै संगीत पनि पढिरहेका छन् । उनी भन्छिन् “एकदिन आफ्नै आवाजमा आफ्नै कथा गाउनेछु,”










