दोलखा । भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सरकारको दमन र घुसपैठका कारण भएको धनजनको क्षतिप्रति माओवादी केन्द्र, दोलखाले दुःख व्यक्त गरेको छ। पार्टीले सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
जिल्ला समन्वय समितिका संयोजक कमल श्रेष्ठ र इन्चार्ज विशाल खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन र लोकतान्त्रिक गणतन्त्रको रक्षा आजको मुख्य चुनौती भएको उल्लेख गरेका छन्।
पार्टीले संविधान, संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाको रक्षा गर्दै आन्तरिक तथा बाह्य प्रतिगमनकारी तत्वको चलखेललाई रोक्न सबैलाई एक हुन अपिल गरेको छ। साथै, जनताको ज्यान–धन र सार्वजनिक सम्पत्तिमाथि आघात पुर्याउने गतिविधिप्रति सचेत रहन आग्रह गरिएको छ।
माओवादी केन्द्रले आन्दोलनमा उठेका जायज मागलाई संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिंदै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र संविधानको पक्षमा दृढ रहन सबैलाई आह्वान गरेको छ।