सरकारको फागुन २१ निर्वाचन घोषणा जनतालाई ठग्ने नाटक : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनाइ पूर्ण रूपमा झुट भएको बताएका छन्।

शनिबार पार्टी सम्पर्क समन्वय कमिटीद्वारा च्यासलस्थित मुख्यालयमा आयोजित चियापान कार्यक्रममा ओलीले सरकारले राजनीतिक दलहरूलाई निषेध गर्दै चुनावको नाटक गर्न खोजिरहेको आरोप लगाए।

उनले भने, “राजनीतिक दलहरूलाई चुनावमा जान नदिई, आफैं मात्र भाग लिएर चुनाव गर्ने योजना जनतालाई ठग्ने मेलो हो।” ओलीका अनुसार सरकारसँग निष्पक्ष निर्वाचन गराउने कुनै इच्छा छैन।

उनले आफ्नो पार्टीले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग अघि बढाएको उल्लेख गर्दै भने, “यो सरकारबाट चुनाव सम्भव छैन, त्यसैले हामीले जनमत र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापना चाहेका हौं।” ओलीले जनतालाई सचेत रहन आह्वान पनि गरे।

SHARE