(रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन भारत तयार रहेको बताएका छन्।

मोदीले आफ्नो सन्देशमा नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिकता प्राप्त साझेदारका रूपमा उल्लेख गरेका छन्। उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने चाहनालाई स्वागत गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्न तत्पर रहेको बताएका छन्।

मंगलबार भारत पुगेका लामिछानेले बुधबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए। उनले भाजपा मुख्यालयको अवलोकन समेत गरेका थिए।

त्यसै दिन उनले भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

भारत भ्रमण सकेर लामिछाने २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।