प्रधानमन्त्री कार्की राजनीतिक दलहरूसँग आज छलफल गदै

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्। पछिल्ला दिनमा निर्वाचनबारे दलहरूसँग परामर्श नगरेको भन्दै सरकार आलोचनाको सामना गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग औपचारिक छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ४ बजे हुने उक्त बैठकमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे विस्तृत चर्चा हुनेछ। छलफलमा राष्ट्रिय मान्यता प्राप्त ७ वटा राजनीतिक दलका नेताहरू सहभागी हुने जनाइएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट पाएको छ। यसअघि सरकार र दलबीच समन्वयको कमी देखिँदा निर्वाचनको तयारीप्रति प्रश्न उठ्दै आएको थियो।

प्रधानमन्त्री कार्कीले आजको छलफलमार्फत दलहरूको सुझाव सुनी निर्वाचनको वातावरण सुदृढ बनाउने लक्ष्य लिएकी छन्। सचिवालयका अनुसार छलफलपछि निर्वाचन तयारीका सम्बन्धमा सरकार आधिकारिक निर्णयको चरणमा प्रवेश गर्नेछ।

SHARE