सुरक्षाकर्मीको असहयोगकै कारण ओली नेतृत्वको सरकार ढल्यो : शंकर पोखरेल

दाङ :  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुरक्षाकर्मीको असहयोग र षड्यन्त्रकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको दाबी गरेका छन्।

बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरीले १०/१५ हजार भीड व्यवस्थापन गर्न नसक्नु अस्वाभाविक भएको उल्लेख गर्दै यसमा योजनाबद्ध असहयोग भएको आरोप लगाए।

उनका अनुसार, भदौ २३ र २४ गतेको आन्दोलन सामान्य आक्रोश नभई राष्ट्रलाई कमजोर पार्ने नियोजित प्रयास थियो। उनले कम्प्युटर सर्भर, प्रहरी र न्याय प्रणालीमाथि आक्रमण गरेर देशको कानुनी संरचना ध्वस्त पार्ने कोशिश भएको बताए।

महासचिव पोखरेलले ‘हामी नेपाल’ आन्दोलनमा संलग्न गैरसरकारी संस्थाहरूले सरकार बनाउनु असंवैधानिक भएको जिकिर गर्दै भने,
“एनजिओ/आइएनजिओ राजनीतिको स्टेकहोल्डर हुन सक्दैनन्, अहिलेको सरकार संवैधानिक छैन।”

त्यस्तै, उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै, “जो व्यक्ति आफैं द्वन्द्वको पक्ष हुन्, उनीबाट निष्पक्ष छानबिन सम्भव छैन,” भन्दै कार्कीले नैतिक कारणले पद त्याग गर्नुपर्ने सुझाव दिएका छन्।

SHARE