‘लडाइँ पहिचानको’को ट्रेलर सार्वजनिक : कोशी नामकरणले उब्जाएको आन्दोलनलाई पर्दामा पुनर्जन्म

काठमाडौं । चलचित्र ‘लडाइँ पहिचानको’ को  ट्रेलर सार्वजनिक भएको छ । तत्कालीन प्रदेश नम्बर १ (हालको कोशी प्रदेश) मा पहिचानको मागसहित चलेको ऐतिहासिक आन्दोलनलाई केन्द्रविन्दुमा राखेर तयार गरिएको यो फिल्म सामाजिक–राजनीतिक बहस, जनविद्रोह र पहिचान संघर्षको कथालाई सिनेमाटिक रूपमा प्रस्तुत गरिएको छ ।

भीम लामाको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रको ट्रेलरमा आन्दोलनकारीहरूले ‘किरात–लिम्बुवान प्रदेश’ नामको माग गर्दै सडकदेखि सदनसम्म चलाएको आन्दोलनलाई स्पष्ट  रूपमा चित्रण गरिएको छ।
प्रदेशको नाम ‘कोशी’ घोषणा भएपछि उत्पन्न हिंस्रक तनाव, नागरिक–राज्यबीचको आमनेसामने, र पहिचान खोजीमा उभिएको जनस्तरको रोष,पीडा ट्रेलरका मुख्य दृश्य बनेका छन्। समाजमा अझै पनि विवादित र संवेदनशील मानिने विषयलाई फिल्मले निष्पक्ष, गहिरो र दस्तावेजीय शैलीमा पेश गर्न खोजेको देखिन्छ।

चलचित्रमा नायक तथा गायक प्रशान्त तामाङ पहिचानवादी नेताको रूपमै सबल र प्रभावशाली देखिएका छन्।
अभिनेत्री करिश्मा मानन्धर ट्रेलरमा अन्वेषणशील पत्रकारको रुपमा देखिन्छिन्, जसले आन्दोलन, सत्ता र सत्यबीचको नाडी छाम्दै जाने जिम्मेवारी सम्हाल्छिन्।

त्यस्तै धीरेन शाक्य प्रदेश प्रहरी प्रमुखको भूमिकामा देखिँदा कथामा सत्ता–संरचना र आन्दोलनबीचको टकराबलाई थप विश्वसनीय बनाएको छ। राजेन्द्र खड्गी, प्रेम सुब्बा, जेनी घिसिङदेखि कोशी प्रदेशकै स्थानीय कलाकारहरूको उपस्थिति फिल्मलाई स्थानीय यथार्थसँग जोड्ने ठूलो बल बनेको छ।

निर्माताहरू भीम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ छन्। छायांकन मदन कस्यप घिमिरे र सम्पादन रमेश डी. कौशिकको संयोजनमा बनाइएको फिल्मले वास्तविक लोकेसन, भिड–दृश्य र आन्दोलनको वातावरणलाई पुनःनिर्माण गर्न विशेष ध्यान दिएको देखिन्छ।

चलचित्रमा बलराम समल, भीम बस्नेत, दिप्सन लिम्बू, शेखर थापा र सागर तामाङको संगीत छ । गीतमा शब्द बुद्धवीर लामा, भीम लामा, इरान राई, भीम बस्नेत, सागर तामाङ र राज हाङ लिम्बूको रहेको छ। भने कोरियोग्राफी मणी कुमार लिम्बू र सानू राजा थेगिमले गरेका छन् भने सहायक कोरियोग्राफर बुद्धिमान तामाङ र प्रवीण किरातीले गरेका छन्।

चलचित्र ट्रेलरले आन्दोलनको भाषिक–सांस्कृतिक स्वरूपलाई प्रस्ट पार्ने कोसिस गरेको छ। संवाद, नाराजस्ता दृश्यले वास्तविक आन्दोलनको स्मरण गराउँछन्। पहिचान, नामकरण विवाद र राज्यसँगको संघर्षजस्ता संवेदनशील विषयलाई उठाउँदा फिल्मले जिम्मेवारीका साथ दुवै पक्षलाई देखाउने संकेत गरेको छ।

 भिड,दृश्य, विरोध प्रदर्शन र दमनका दृश्यहरूले फिल्मलाई ठूलो क्यानभासमा प्रस्तुत गरिएको आभास दिन्छ। प्रशान्त तामाङ र करिश्मा मानन्धरका पात्रहरूले राजनीतिक कथा र मानव पीडाबीचको सम्बन्धलाई जोड्ने सम्भावना देखिन्छ।

फिल्मले कुनै एक पक्षको प्रचार वा भावनात्मक ओझेलमा नपरी, संघर्षको मूल कारण-पहिचानको प्रश्न-लाई व्यापक रूपमा उठाउने संकेत गरेको ट्रेलरमार्फतै अनुभूत हुन्छ। चलचित्र मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी रहेको छ ।

SHARE