कोटाभन्दा माथि उठेकी प्रतिनिधि : स्मृती सेन्चुरी र समयले खोजेको नयाँ राजनीति

काठमाडौं । राजनीति सधैँ शक्ति र पहुँचको खेल मात्र हो भन्ने स्थापित धारणालाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक लोकतान्त्रिक अभ्यासमार्फत समानुपातिक उम्मेदवार छनोटको नयाँ बाटो खोलेको छ । बन्द कोठाभित्र नाम टुंग्याउने परम्परा तोड्दै गरिएको प्रारम्भिक निर्वाचनले नेपाली राजनीतिमा फरक तरंग पैदा गरेको छ ।
यही प्रक्रियाको दलित क्लस्टरबाट अन्तिम चरणमा पुगेको नाम हो स्मृती सेन्चुरी । उनी कुनै ‘कोटा पूरा गर्ने’ अनुहार होइनन्, आजको समाज र राजनीतिले माग गरिरहेको सचेत, अध्ययनशील र जिम्मेवार पुस्ताको प्रतिनिधि हुन् । दोलखाको भिरालो भूगोलबाट राजधानीको राजनीतिक बहससम्म आइपुग्दा स्मृतीले संघर्ष, अनुभूति र चेतनाको लामो यात्रा तय गरेकी छन् ।

समाजशास्त्रको अध्ययनले उनलाई असमानता किताबको विषय मात्र होइन, जीवनको यथार्थ हो भन्ने बोध गरायो । दलित, महिला र युवाको बहिष्करण उनले आँकडामा होइन, आफ्नै जीवनमा देखेकी छन् । त्यसैले उनी दर्शक बन्न चाहिनन्, हस्तक्षेपकर्ता बन्ने निर्णय गरिन् । उनका लागि राजनीति पदको चाहना होइन, परिवर्तनको औजार हो ।

स्मृती गर्वका साथ आफूलाई ‘दोलखाकी छोरी’ भन्छिन् । विकासको असमान पहुँच, रोजगारीको अभाव र सम्भावनाको बेवास्ता उनले नजिकबाट भोगेकी छन् । संसद् पुग्नु भनेको उनको दृष्टिमा एक जिल्लाको मात्र होइन, देशभरका दलित, महिला र युवाको साझा आवाज बन्नु हो । समानुपातिक प्रतिनिधित्वलाई उनी अवसर होइन, जिम्मेवारी ठान्छिन् ।
रास्वपाप्रतिको उनको आकर्षण स्पष्ट छ-पारदर्शिता, योग्यता र साहस । “दलितलाई मतदाता बनाइयो, निर्णयकर्ता बनाइएन,” भन्ने उनको टिप्पणी पुरानो राजनीतिमाथिको कठोर प्रश्न हो । उनी नीति निर्माणमा दलित दृष्टिकोण, विभेदविरुद्ध कडा कार्यान्वयन, शिक्षा–रोजगारीमा समान पहुँच र स्थानीय आर्थिक पुनरुत्थानको पक्षमा उभिन्छिन् ।

आज स्मृती सेन्चुरी समयले अघि सारेकी पात्र हुन् । जेन–जी पुस्ताको आवाज बोकेकी उनी नारा होइन, परिणाम खोज्छिन् । रास्वपाको प्रारम्भिक निर्वाचन उनको मात्र होइन, समावेशी लोकतन्त्रको पनि परीक्षा हो । यदि स्मृतीजस्ता प्रतिनिधि चयन भए, त्यो संसद्‌मा नयाँ चेतनाको प्रवेश हुनेछ-जहाँ प्रतिनिधित्व सूचीमा होइन, निर्णयमा देखिनेछ ।