काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुने जनाएको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहणमा सहभागी हुन सांसदहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ।
शपथ ग्रहणमा आउँदा सांसदहरूले आवश्यक कागजपत्र पनि साथमा ल्याउनुपर्नेछ। सचिवालयका अनुसार निर्वाचन आयोगबाट जारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
सचिवालयले शपथ ग्रहण कार्यक्रममा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि आग्रह गरेको छ।
यस्तै, नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिनअघि नै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।









