क्रिसमस ख्रीष्टियन धर्मावलम्बीहरूले मनाउने पवित्र पर्व हो । यो पर्व येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइन्छ । “क्रिसमस” शब्द बाइबलमा सिधै उल्लेख नभए पनि, येशूको जन्मसम्बन्धी घटनाहरू बाइबलका विभिन्न पदहरूमा स्पष्ट रूपमा वर्णन गरिएको छ । ती पदहरूकै आधारमा क्रिसमस पर्व मनाउने परम्परा विकास भएको हो ।

बाइबलअनुसार येशू ख्रीष्ट मानवजातिको उद्धारकर्ता हुनुहुन्छ । उहाँको जन्म केवल ऐतिहासिक घटना मात्र होइन, परमेश्वरको प्रेम, करुणा र उद्धार योजनाको सुरुवात हो । यशैया ९:६ मा लेखिएको छ, “हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, हामीलाई एउटा पुत्र दिइएको छ,” जसले येशूको जन्ममार्फत संसारमा उद्धार आउने भविष्यवाणी गर्दछ । त्यस्तै यशैया ७ :१४ मा “कुमारी गर्भवती भई छोरा जन्माउनेछे, र उसको नाम इम्मानुएल राखिनेछ” भनिएको छ, जसको अर्थ परमेश्वर मानिससँग हुनुहुन्छ भन्ने हो ।
नयाँ नियममा यी भविष्यवाणीहरू पूरा भएको देखिन्छ । लूका १ :३० – ३१ मा स्वर्गदूतले मरियमलाई येशू जन्मिने शुभ समाचार सुनाउँछन् । मत्ती १: २१ मा “उसले आफ्नो जनतालाई पापबाट उद्धार गर्नेछ” भनिएको छ, जसले येशूको उद्देश्य स्पष्ट पार्छ ।
लूका २:७ अनुसार येशू साधारण गोठमा जन्मिनुभयो, जसले उहाँको नम्रता र मानवप्रतिको गहिरो प्रेम देखाउँछ । साथै लूका २:१०–११ मा स्वर्गदूतहरूले “आज उद्धारकर्ता जन्मिएको छ” भनी महान् खुशीको सन्देश दिएका छन् ।
यसैले क्रिसमस प्रेम, शान्ति, आशा र उद्धारको सन्देश बोकेको पर्व हो । यो पर्व केवल उत्सव मनाउने दिन मात्र नभई, येशू ख्रीष्टको शिक्षाअनुसार जीवन जिउन, एकअर्कालाई प्रेम गर्न र मानवताको सेवा गर्न प्रेरित गर्ने दिन हो ।










