मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

सरकारले यसअघि सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयनको चरणमा रहेकाले आजको बैठकमा त्यसैको प्रगतिबारे समीक्षा हुने अपेक्षा गरिएको छ। कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।

यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरिसकेको छ। अन्य विभिन्न मुद्दामा संलग्न व्यक्तिहरूलाई पनि धमाधम पक्राउ गर्ने क्रम जारी रहेको सरकारी स्रोतले जनाएको छ।

सरकारले सुशासन र कानुनी शासनलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने संकेत दिएको छ। आजको मन्त्रिपरिषद् बैठकले समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णयहरू गर्न सक्ने अपेक्षा गरिएको छ।