काठमाडौं । काठमाडौं महानगरपालिका–४, बाँसबारीस्थित बाँसबारी माध्यमिक विद्यालयले २०८२ मङ्सिर २० गते बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। बार्षिकोत्सव कार्यक्रममा विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका सभापति बाल क्लब अध्यक्षका रविन्द्र शर्मा, प्रमुख अतिथि विद्यालय क्याप्टेन राजन शाही र उप–क्याप्टेन अनिशा श्रेष्ठ रहेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीरङ्ग रेग्मी, प्रधानाध्यापक नारायणी तिमिल्सेना तथा वडा सदस्य नविन मैनालीसहित विभिन्न समितिका प्रतिनिधिहरू सहभागी थिए।
राष्ट्रिय गानपछि सुरु भएको कार्यक्रममा बालबालिकाले नृत्य, गीत–संगीत, फ्रुट्स इन्ट्रोडक्सन तथा विषयगत प्रस्तुतीकरण गरेका थिए। नर्सरीदेखि कक्षा १० सम्मका अतिरिक्त क्रियाकलाप, सांस्कृतिक विधा र खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र र टीका सहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
एसईई २०८० मा उत्कृष्ट जीपीए ल्याएको आधारमा आयुशी यादव, शैक्षिक सत्र २०८१ एसएलसीमा उत्कृष्ट विद्यार्थी यादव कुमार पौडेल र कक्षा १–९ सम्मको वार्षिक परीक्षामा उच्चतम जीपीए ल्याएकी सुप्रिया खत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ। त्यस्तै उत्कृष्ट अभिभावकमा महालक्ष्मी लामाले सम्मान प्राप्त गरिन् भने एसईईमा उच्च जीपीए निकाल्ने शिक्षकहरूलाई पनि प्रशंसा–पत्रद्वारा सम्मानित गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीरङ्ग रेग्मीले विद्यार्थीको प्रतिभा र शिक्षक–अभिभावकको सहयोगले विद्यालय निरन्तर प्रगतिमा रहेको बताए। कार्यक्रम बालक्लब संयोजक लक्ष्मी बस्नेतले धन्यवाद ज्ञापन गर्दै समापन गरिएको थियो।











