आफ्नो गाउँपालिकामा रहेका सबै धर्म, संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्न गाउँपालिका प्रतिवद्ध रहेको जन्तेढुङ्गा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राईले बताएकी छन् ।
शनिबार किरात मुन्दुम अध्ययन केन्द्रले आयोजना गरेको ‘मुन्दुम संस्कृति र यसको सिकाइ विषयक विचार गोष्ठी’मा उनले यस्तो प्रतिवद्धता जनाएकी हुन् । ‘आज किरात राई समुदायको मुन्दुमको विषयमा छलफल भइरहेको छ’, उनले भनिन्, ‘हामी अरु धर्म संस्कृतिको पनि जगेर्नाका लागि मसिनो गरी काम गर्नेछौँ । यो प्रतिवद्धता गाउँपालिकाको तर्फबाट व्यक्त गर्दछु ।’ उनले सम्पन्न कार्यक्रमबाट सबै समुदायले आफ्नो संस्कार संस्कृतिको जगेर्ना तथा अध्ययन गर्नुपर्ने चेतना पाउने उल्लेख गरिन् ।
अध्यक्ष राईले संस्कार संस्कृति नरहे मानव जीवनको अस्तित्व र पहिचान मेटिने पनि बताइन् । खोटाङको दक्षिणी क्षेत्रमा रहेको जन्तेढुङ्गा गाउँपालिकामा हाल १४ बढी जातजातिको बसोबास रहेको छ । जसमध्ये अधिकांश किरात राई समुदायको बसोबास रहेको छ ।