राति क्लब विवादमा ब्रूक र बेथेललाई चेतावनी

काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर ह्‍यारी ब्रूक रजेकब बेथेल लाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी दिइएको छ।

इंग्ल्यान्डको स्वतन्त्र निकाय क्रिकेट रेगुलेटरले दुवै खेलाडीले नियम उल्लङ्घन गरेको ठहर गर्दै ‘कसन नोटिस’ जारी गरेको हो। उक्त नोटिसअनुसार उनीहरूलाई अन्तिम चेतावनी दिइएको छ र यो रेकर्ड आगामी तीन वर्षसम्म कायम रहनेछ।

घटनाअनुसार, ब्रूकले न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलअघि राति मदिरा सेवन गरेका थिए। उनी एक नाइट क्लबमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेको बताइएको छ। प्रारम्भमा उनी एक्लै भएको बताएका थिए तर पछि जोश टंग र बेथेल पनि सँगै रहेको स्वीकार गरेका थिए।

इंग्ल्यान्ड क्रिकेट बोर्डले ब्रूकलाई आन्तरिक रूपमा जरिवाना गरेको थियो, तर उक्त कारबाही सार्वजनिक गरिएको थिएन। घटना बाहिरिएपछि मात्र यसबारे जानकारी आएको हो।

घटनापछि टोलीमा अनुशासन कायम गर्न इंग्ल्यान्डले राति १२ बजेको कर्फ्यु नियम लागू गरेको छ, जुन आगामी खेलहरूमा पनि जारी रहने अपेक्षा गरिएको छ।

यस प्रकरणमा टंगमाथि भने थप कारबाही गरिएको छैन।