इसराइल–लेबनन प्रत्यक्ष वार्ताको तयारी

काठमाडौँ । बेन्जामिन नेतन्याहू नेतृत्वको इसराइल सरकारले लेबननसँग प्रत्यक्ष वार्ता सुरु गर्ने तयारी गरेको छ। अमेरिकी टेलिभिजन नेटवर्क CNNका अनुसार नेतन्याहूले यथाशीघ्र वार्ता अघि बढाउन मन्त्रिपरिषद्लाई निर्देशन दिएका छन्।

“प्रत्यक्ष वार्ताका लागि लेबननले पटक–पटक आग्रह गरेपछि हिजो मैले मन्त्रिपरिषद्लाई यथाशीघ्र वार्ता सुरु गर्न निर्देशन दिएको छु,” नेतन्याहूको भनाइ उद्धृत गर्दै CNNले जनाएको छ।

नेतन्याहूका अनुसार प्रस्तावित वार्ताको मुख्य एजेन्डा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नु हुनेछ। हिजबुल्लाह इरान समर्थित सशस्त्र समूह हो, जसले हालैको द्वन्द्वका क्रममा लेबननबाट इसराइलमाथि आक्रमण गर्दै आएको छ।

यसैबीच, बुधबार औपचारिक रूपमा युद्धविराम घोषणा भए पनि इसराइलले लेबननमा आक्रमण जारी राखेको छ। इसराइल र अमेरिकाले उक्त युद्धविराममा लेबनन समावेश नभएको स्पष्ट पारेका छन्।

युद्धविरामकै दिन इसराइलले लेबननमा अहिलेसम्मकै ठूलो आक्रमण गर्दा २ सय ५० भन्दा बढीको मृत्यु भएको र ११ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेतन्याहूले प्रस्तावित वार्ता हिजबुल्लाहको निःशस्त्रीकरणसँगै इसराइल र लेबननबीच दीर्घकालीन शान्तिपूर्ण सम्बन्ध स्थापना गर्ने विषयमा केन्द्रित हुने बताएका छन्। साथै, लेबननका प्रधानमन्त्रीले बेरुतलाई ‘सैन्यीकरणमुक्त’ बनाउने आह्वान गरेकोप्रति इसराइलले स्वागत जनाएको पनि उनले उल्लेख गरेका छन्।