केन्द्रको निर्णयविपरीत स्थानीय तहद्वारा विद्यालय सञ्चालन सुरु

काठमाडौं। संघीय सरकारको निर्देशनलाई बेवास्ता गर्दै देशका विभिन्न स्थानीय तहहरूले विद्यार्थी भर्ना तथा पठनपाठन अघि बढाएका छन्। केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय पालिकाहरूले आफ्नै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालन सुरु गरेका हुन्।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले वैशाख २ गतेदेखि नै भर्ना र पठनपाठन सञ्चालन गर्ने सूचना जारी गरेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा निहित रहेकाले सोहीअनुसार शैक्षिक सत्र सुरु गरिएको उल्लेख छ।

त्यस्तै, बन्दीपुर गाउँपालिकाले वैशाख २ देखि ८ गतेसम्म भर्ना र ९ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार शैक्षिक क्यालेन्डरअनुसार समयमै पढाइ सुरु नगर्दा पाठ्यक्रम पूरा गर्न कठिन हुने र विद्यार्थी अन्य विद्यालयतर्फ जाने जोखिम बढ्ने भएकाले निर्णय लिइएको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि वैशाख ७ गतेदेखि भर्ना अभियान र १० गतेदेखि पठनपाठन सुरु गर्ने जनाएको छ। नगर प्रमुख रामकृष्ण खाणले शैक्षिक गतिविधि भने वैशाख २ गतेदेखि नै अघि बढाइएको जानकारी दिएका छन्।

प्युठानको झिमरुक गाउँपालिकाले समेत भर्ना प्रक्रिया सुरु गरिसकेको छ। गाउँपालिका अध्यक्ष पितबहादुर महताराले परीक्षा सकिएपछि लामो बिदा हुँदा विद्यार्थी अन्यत्र जान सक्ने भएकाले भर्ना अघि बढाइएको बताए।

स्थानीय तहहरूले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै शैक्षिक सत्र सञ्चालन गरेको दाबी गरेका छन्। यद्यपि, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेअघि भर्ना नगर्न परिपत्र जारी गरिसकेको छ। महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रको निर्णयविपरीत काम भएको आधिकारिक जानकारी आए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए।

यसैबीच निजी विद्यालयहरूले पनि भित्रभित्रै भर्ना सुरु गरेको गुनासो आएको छ। प्याब्सन काठमाडौंले वैशाख २ गतेदेखि भर्ना, ७ गतेदेखि पूर्वतयारी कक्षा र १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

इन्धन अभावका कारण आइतबार सार्वजनिक बिदा दिने र शैक्षिक सत्र ढिला सुरु गर्ने सरकारको निर्णयप्रति शैक्षिक क्षेत्र असन्तुष्ट देखिएको छ। यसअघि भने वैशाख २ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु गर्ने परम्परा थियो।