टाउकोको क्यान्सरबाट बाजुराका वडाध्यक्ष विष्टको निधन

बाजुरा ।जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ।

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विष्ट लामो समयदेखि टाउकोको क्यान्सरबाट पीडित थिए। उपचारकै क्रममा उनको निधन भएको हो।

विष्ट स्थानीय तहमा जनप्रतिनिधि मात्र नभई सक्रिय समाजसेवीका रूपमा समेत परिचित थिए। उनको निधनले गाउँपालिकामा शोकको वातावरण छाएको छ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले शोक वक्तव्य जारी गर्दै दिवंगत विष्टप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, गाउँपालिकाले एक दिन शोक बिदा दिने र शोकको संकेतस्वरूप आधा झण्डा झुकाउने निर्णय गरेको उनले जानकारी दिए।