बस्नेतविरुद्ध अनुसन्धान मागिएको रिट उच्च अदालतद्वारा खारेज

काठमाडौं । एमाले सचिव महेश बस्नेत विरुद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउन परमादेश माग्दै शोभा पाठक ले दायर गरेको रिट उच्च अदालत पाटन ले खारेज गरेको छ।

बुधबार न्यायाधीशद्वय सोमकान्त मैनालीकेशव प्रसाद अधिकारी को इजलासले पाठकको रिट निवेदन खारेज गर्ने निर्णय सुनाएको हो।

पाठकले दुई वर्षअघि बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पर्याप्त प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय ले तामेलीमा राख्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध पाठक उच्च अदालत पुगेकी थिइन्।

त्यसपछि उनले बस्नेतविरुद्ध पूरक जाहेरी दिँदै बलात्कार र भ्रूण हत्या गरेको आरोपसमेत लगाएकी थिइन्। तर, उक्त जाहेरीमाथिको अनुसन्धानपछि पनि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध पाठकले पुनः उच्च अदालतमा रिट दायर गरेकी थिइन्।

अदालतको आदेशमा पूरक जाहेरीमा उल्लिखित थप प्रमाण तथा सम्बन्धित अन्य प्रमाण बुझी अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको देखिएको उल्लेख गरिएको छ। काठमाडौं जिल्ला अदालत बाट २०८२ चैत १६ गते आदेश भइसकेकाले निवेदकले माग गरेअनुसार परमादेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतले ठहर गरेको हो।

अदालतले उक्त आधारमा रिट निवेदन खारेज हुने निर्णय सुनाएको जनाएको छ।