तीन ऐन संशोधन विधेयक संसद्मा पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरू संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले ती सबै विधेयक अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन्।

निर्णयअनुसार नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधनसम्बन्धी विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्न हरियो झण्डा दिइएको छ।

सरकारले कानुनी तथा संस्थागत सुधारका लागि आवश्यक संशोधन अघि बढाएको जनाएको छ।