काठमाडौं । विजय बराल, मेक्सम गौडेल र वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म ‘मालती मंगले’को ट्रेलर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरले फिल्म परिवार र सामाजिक परिवेशमा आधारित रहेको संकेत गर्छ। कथामा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम, उनीहरूको सम्बन्धमा आउने उतार–चढाव तथा पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
फिल्ममा मेक्सम गौडेल हरि नामक खलपात्रको भूमिकामा देखिएका छन्। ट्रेलरमा ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ जस्ता चर्चित गीतका आकर्षक झलकहरू पनि समेटिएका छन्।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको कथा, पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्। फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको समेत अभिनय रहेको छ।
‘मालती मंगले’ आगामी २५ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।









