काठमाडौं । झन्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसले पहिलोपटक आदिवासी जनजाति समुदायबाट संसदीय दलको नेता चयन गरेको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५३ औँ दिनमा सोमबार भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाइएको हो।
समानुपातिक प्रणालीतर्फ पाँचथरबाट प्रतिनिधिसभा सदस्य रहेका ६१ वर्षीय आङ्देम्बेलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्विरोध चयन गरिएको हो। सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले उनको नाम सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।
यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत नेता चयन गर्ने निर्णय गरेको थियो। सभापति गगनकुमार थापाले प्रस्ताव गरेको नामप्रति कुनै सांसदले असहमति जनाएनन्, जसका कारण निर्वाचन प्रक्रिया नै आवश्यक परेन।
सभापति थापाले सर्वसम्मत निर्णय गराउन समय लागे पनि त्यसले पार्टीलाई परिपक्व बनाएको बताए। उनका अनुसार बहुसंख्यक सांसद र नेताहरूको चाहना सर्वसम्मत नेतृत्व चयन गर्ने भएकाले छलफलमा समय खर्चिएको हो।
आङ्देम्बे कांग्रेसको १४औँ महाधिवेशनबाट आदिवासी–जनजाति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा निर्वाचित भएका नेता हुन्। उनी दोस्रोपटक संसद् यात्रा गरिरहेका छन्। यसअघि २०७० को संविधानसभा सदस्यका रूपमा उनले उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।
राजनीतिक जीवनको सुरुवात विद्यार्थी आन्दोलनबाट गरेका आङ्देम्बे २०३६ सालको जनमत संग्रहको समयमा विद्रोही गतिविधिमा सक्रिय थिए। २०४२ सालमा सत्याग्रहका क्रममा जेल जीवन बिताएका उनले नेपाल विद्यार्थी संघ र तरुण दलमा रहेर सक्रिय भूमिका निर्वाह गरेका छन्।
सर्वसम्मत रूपमा दलको नेता चयन भएपछि आङ्देम्बेले नेतृत्वप्रति आभार व्यक्त गर्दै संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले सरकारका सकारात्मक कामको समर्थन र कमजोरीमाथि कडा प्रतिवाद गर्ने बताए।









